काठमाडौं – करदाता प्रोत्साहन उपहार कार्यक्रमअन्तर्गत असोज १ देखि १५ गतेसम्मको अवधिको १० लाख रुपैयाँ राशिको बम्पर उपहार पर्साका लालबाबु साह कानुले प्राप्त गरेका छन्। २१ हजार रुपैयाँकाे ल्युब आयल खरिद गरेका कानुले साे काराेबारबाट उपहारका लागि छनाैट भएका हुन्।
अर्थ मन्त्रालयमा शुक्रबार आयोजित कार्यक्रममा प्रतिनिधिसभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिका सभापति सुम्निमा उदास तथा प्रतिनिधिसभा सदस्यद्वय गणेश कार्की र सन्तोष राजवंशीले संयुक्त रूपमा असोज महिनाको पहिलो १५ दिनको उपहार घोषणा गरेका हुन्।
उपहार घोषणा भएपछि आन्तरिक राजस्व विभागका महानिर्देशक डा. भीष्मकुमार भूषालले कानुलाई टेलिफोनमार्फत बधाई दिँदै पुरस्कार प्राप्त गर्न नजिकैको कर कार्यालयमा सम्पर्क गर्न आग्रह गरेका छन्। विभागका अनुसार असोज १ देखि १५ गतेसम्म अनलाइन तथा नगद कारोबारमा सहभागी भई बिल लिएका उपभोक्ताका ३ करोड १८ लाख १८ हजार २८६ वटा कारोबार उपहार कार्यक्रमका लागि योग्य भएका थिए।
त्यसमध्ये नगदमा कारोबार गरी बिल लिएका उपभोक्ताका २ लाख ४७ हजार ९७९ वटा कारोबार थिए। यस्तै, अनलाइन तथा कार्डमार्फत भुक्तानी गरी वस्तु खरिद गरेका उपभोक्ताका ३ करोड १५ लाख ७० हजार ३०७ वटा कारोबार उपहारका लागि योग्य भएका थिए। कार्यक्रमअन्तर्गत असोज १ देखि १५ गतेसम्म दैनिक १ लाख रुपैयाँका दरले प्रदान गरिने उपहारका विजेताहरूको कुपनसमेत सार्वजनिक भएकाे छ।








About Us
प्रतिक्रिया