नेपाल क्यापिटल मार्केट डिस्कोर्स आयोजना हुँदै, मुख्य प्रायोजकमा नासा सेक्युरिटिज


काठमाडौं – नेपालको पूँजी बजारबारे बृहत छलफल गर्ने लक्ष्यसहित बैंकिङ्ग समाचारको आयोजना र नासा सेक्यूरिटिजको मुख्य प्रायोजनमा ‘नेपाल क्यापिटल मार्केट डिस्कोर्श २०२६’को आयोजना हुने भएको छ। नेपालको पूँजी बजारको नीतिगत सुधार, नियामकीय अवस्थाको चर्चा र सुधार तथा लगानीकर्ताको हकहित र शेयर शिक्षा फैलाउने लक्ष्यसहित नासा सेक्यूरिटिजको मुख्य प्रायोजनमा ‘नेपाल क्यापिटल मार्केट डिस्कोर्श २०२६’ आयोजना हुने भएको हो।

नेपालको शेयर बजारमा यतिबेला प्रत्यक्षरुपमा ८० लाख लगानीकर्ता जोडिएका छन्। यो जनसंख्याको २६ प्रतिशत हो। जनसंख्याको २६ प्रतिशत सर्वसाधारणले डिम्याट खोलेर पूँजीबजारमा प्रत्यक्षरुपमा लगानी गरिरहेका छन्। यस्तै, ब्रोकर एकाउन्ट खोल्ने नेपालीहरुको संख्या २८ लाख हाराहारी छ।

यसबाहेक, नेपाल स्टक एक्सचेञ्ज (नेप्से)को बजार पूँजीकरण ४५ खर्ब रुपैयाँ आसपास छ भने कुनै समय दैनिक २२ अर्ब रुपैयाँसम्म कारोबार हुने गरेकोमा अहिले दैनिक २ अर्बदेखि ३ अर्ब रुपैयाँको कारोबार भइरहेको छ। करिब ३०० कम्पनी नेप्सेमा सूचीकृत रहँदा ९० वटा ब्रोकर कम्पनी, ३२ वटा मर्चेन्ट बैंक, ३ वटा क्रेडिट रेटिङ कम्पनीहरु प्रत्यक्षरुपमा शेयर बजारमा संलग्न छन्।

यी कम्पनीहरुमा हजारौंले रोजगारी पाइरहेका छन् भने यी कम्पनीहरू तथा लगानीकर्ताहरुबाट राज्यकोषमा ‘कर्पोरेट गेन ट्याक्स’ र लाभांश करगरी वर्षेनी अर्बौं रकम जम्मा भइरहेको छ। तर, पनि शेयर बजारमा ‘शेयर कर्नरिङ’, म्यानुपुलेसन, इन्साइडर ट्रेडिङ लगायतले नयाँ लगानीकर्ता मारमा परिरहेका छन्।

यसबाहेक, नयाँ स्टक एक्सचेञ्ज, नेप्से पुर्नसंरचना, नेप्से ३०, एनआरएनएलाई पूँजीबजारमा बाटो खुलाउने लगायतका नीतिगत विषय वर्षौंदेखि अलपत्रल अवस्थामा छन्। यता, कमोडिटी एक्सचेञ्ज, दोहोरो आइजिन लगायतका विषय समेत समाधानहीन बनिरहेका छन्। यीनै विषयहरुमा बृहद्रुपमा छलफल गर्ने लक्ष्यसहित नेपाल क्यापिटल मार्केट डिस्कोर्श २०२६ आयोजना हुन लागेको हो।

क्यापिटल मार्केट डिस्कोर्श यही वर्ष २०८३ साल भदौ २१ गते काठमाडौंको मेरियट होटलमा हुनेछ। जसमा उद्घाटनसत्रसहित कूल ४ वटा सत्रगत छलफल हुनेछन्। यस्तै, डिस्कोर्शमा विशेष डुओलग नामक विशेष सत्रगत छलफल समेत हुनेछ। सत्रगत छलफलमा नियमण र नीति निर्माण, लगानीकर्तामा शेयर शिक्षा र शेयर बजारमा प्रविधि र इनोभेसनसँग सम्बन्धित हुनेछन्।

डिस्कोर्शमा अर्थमन्त्रालय, नेपाल धितोपत्र बोर्ड, नेपाल राष्ट्र बैंक, नेपाल स्टक एक्सचेञ्ज, सीडीएससी एण्ड क्लियरिङ, ब्रोकर कम्पनी, मर्चेन्ट बैंक, वाणिज्य तथा विकास बैंक, क्रेडिट रेटिङ र सूचीकृत कम्पनीहरुको सहभागिता रहनेछ। यस्तै, प्रतिनिधि सभाका सदस्यहरु, सेक्यूरिटी एण्ड एक्सचेञ्ज बोर्ड अफ इन्डिया (सेबी) र बम्बई स्टक एक्सचेञ्ज (बीएसई) लगायत अन्तर्राष्ट्रिय प्रतिनिधिहरुको समेत सहभागिता रहनेछ।