माछापुच्छ्रे बैंकमार्फत करदाता उपहार कार्यक्रममा सहभागी हुन सकिने


काठमाडौं – माछापुच्छ्रे बैंकले सरकारको करदाता प्रोत्साहन उपहार कार्यक्रममा सहकार्य गर्दै आफ्नो एमबीएल एम–स्मार्ट मोबाइल बैंकिङ्ग एपमा ‘बिल जितौँ’ सुविधा सञ्चालनमा ल्याएको छ। आन्तरिक राजस्व विभागले आर्थिक वर्ष २०८३/८४ को बजेटअनुसार बिल लिने संस्कृतिको विकास, डिजिटल भुक्तानीलाई प्रोत्साहन र कर प्रणालीलाई थप पारदर्शी बनाउने उद्देश्यले यो कार्यक्रम सञ्चालन गरेको हो।

कार्यक्रमअन्तर्गत नेपालभित्र व्यक्तिगत प्रयोजनका लागि १०० रुपैयाँभन्दा बढीका वस्तु वा सेवा खरिद गरी व्यापारी क्यूआर मार्फत डिजिटल भुक्तानी गर्ने ग्राहकका योग्य कारोबार स्वतः आन्तरिक राजस्व विभागको प्रणालीमा समावेश हुनेछन्। यसका लागि छुट्टै दर्ता गर्नुपर्ने छैन। बैंकका ग्राहकले एमबीएल एम–स्मार्ट एपमा प्रवेश गरी ‘बिल जितौँ’ मेनुबाट योग्य कारोबारको संख्या, विस्तृत विवरण तथा उपहार विजेता भए/नभएको जानकारी सहजै हेर्न सक्नेछन्।

आन्तरिक राजस्व विभागले योग्य कारोबारमध्ये दैनिक भाग्यशाली चिठ्ठा मार्फत एक जनालाई कर कट्टीपछि १ लाख रुपैयाँ र प्रत्येक १५ दिनमा एक जनालाई १० लाख रुपैयाँ बम्पर पुरस्कार प्रदान गर्ने व्यवस्था गरेको छ। बैंकले ग्राहकलाई १०० रुपैयाँभन्दा बढीको प्रत्येक खरिदमा व्यापारी क्यूआर मार्फत डिजिटल भुक्तानी गर्न, अनिवार्य रूपमा प्यान/भ्याट बिल लिन, बिल सुरक्षित राख्न तथा ‘बिल जितौँ’ मेनुबाट आफ्नो योग्य कारोबार नियमित रूपमा जाँच गर्न आग्रह गरेको छ।

माछापुच्छ्रे बैंकले डिजिटल बैंकिङ्ग लाई थप सहज, सुरक्षित र ग्राहकमैत्री बनाउँदै सरकारी डिजिटल भुक्तानी तथा कर सचेतना अभियानमा निरन्तर सहकार्य गर्ने प्रतिबद्धता जनाएको छ। साथै ‘डिजिटल भुक्तानी गरौँ, बिल लिऔँ, सुरक्षित राखौँ र १० लाख रुपैयाँसम्मको उपहार जित्ने अवसर नछुटाऔँ’ भन्ने सन्देशसहित कार्यक्रममा सक्रिय सहभागिताका लागि ग्राहकलाई आह्वान गरेको छ।