एक्सेल बैंकको दमदार प्रगति, आकर्षक लाभांश दिने क्षमता


झापा- एक्सेल डेभलपमेन्ट बैंकको खुद ब्याज आम्दानी अघिल्लो आर्थिक वर्षको ५६ करोड ५५ लाख रुपैयाँबाट १४.७२ प्रतिशतले बढेर ६४ करोड ८८ लाख रुपैयाँ पुगेको छ। बैंकको अघिल्लो आर्थिक वर्ष १७ करोड २६ लाख रुपैयाँ बराबरको कर्जा नोक्सानी व्यवस्था (इम्पेयरमेन्ट चार्ज) रहेकोमा गत आर्थिक वर्ष कर्जा असुलीमा सुधार भई १९ करोड ४२ लाख रुपैयाँ राइटब्याक भएको छ, जसले नाफा उकास्न मुख्य योगदान पुर्‍याएको छ।

बैंकको सञ्चालन नाफा अघिल्लो आर्थिक वर्षको ११ करोड २१ लाख रुपैयाँबाट बढेर ५३ करोड ९५ लाख रुपैयाँ पुगेको छ। जसबाट बैंकको लाभांश बाँड्ने क्षमता वृद्धि भएको छ। बैंकको प्रति शेयर आम्दानी २४.७६ रुपैयाँ पुगेको छ, जसले लगानीकर्ताहरूका लागि आकर्षक प्रतिफलको संकेत दिएको छ। त्यसैगरी, प्रतिशेयर वितरणयोग्य नाफा मा पनि सकारात्मक वृद्धि भई १४.३८ रुपैयाँ कायम हुनु शेयरधनीहरूका लागि थप सकारात्मक समाचार हो।

त्यसैगरी, बैंकको पूँजी पर्याप्तता अनुपात १४.६३ प्रतिशत कायम रहनुले वित्तीय जोखिम वहन गर्ने क्षमता बलियो रहेको देखाउँछ। यसबाट नियामकीय मापदण्डभित्र रहेर बैंकले सुरक्षित र सन्तुलित रूपमा कर्जा विस्तार गरिरहेको स्पष्ट देखिन्छ।

ग्राहकहरूबाट सङ्कलित निक्षेप १६ अर्ब ७५ करोड रुपैयाँबाट १२ प्रतिशतले बढेर १८ अर्ब ७६ करोड रुपैयाँ पुगेको छ भने ग्राहकहरूलाई प्रवाह गरिएको कर्जा १२ अर्ब ८४ करोड रुपैयाँबाट ७.३२ प्रतिशतले बढेर १३ अर्ब ७८ करोड रुपैयाँ पुगेको छ। बैंकको कुल सम्पत्ति समीक्षा अवधिमा १८ अर्ब ९८ करोड रुपैयाँबाट बढेर २१ अर्ब ३२ करोड रुपैयाँ कायम भएको छ।

समग्रमा, बैंकको यो प्रदर्शनले संस्थागत स्थायित्व, व्यवस्थापनको दक्षता र भविष्यप्रति सकारात्मक संकेत प्रस्तुत गरेको छ। आगामी दिनमा पनि यस्तै सुधारको निरन्तरता रहने अपेक्षा गरिएको छ।