‘सफा सहर’को साख जोगाउन कठिन


सुनसरी- धरान उपमहानगरपालिका–१५ का स्थानीय विनोद राई भन्छन्,’गर्मी र वर्षाको समयमा फोहर दुर्गन्धित भएर चारकोसे जङ्गलको बाटो यात्रा गर्नै कठिन हुन्छ । त्यही फोहरबाट निस्किने झिँगा र लामखुट्टेका कारण घरमा बालबालिका बिरामी पर्ने जोखिम उच्च छ। कहिले फोहर जलाएको धुवाँले त कहिले दुर्गन्धले गर्दा बाटोमा हिँडिसक्नुहुँदैन।’ पहिले ‘सफा हरित सहर’ भनेर चिनिने धरानमा अहिले नाक थुनेर हिँड्नुपर्ने अवस्था छ। उपमहानगरपालिकाले यसको दीर्घकालीन समाधान बेलैमा खोज्नु आवश्यक छ।

‘कुनै समय मुलुककै सफा, सुन्दर र व्यवस्थित सहरको पहिचान बनाएको धरान उपमहानगरपालिकामा अहिले फोहरमैला व्यवस्थापनको संकट चुलिएको छ। धरानबाट दैनिक रूपमा संकलन हुने फोहरको वैज्ञानिक र दीर्घकालीन व्यवस्थापन गर्न नसक्दा वातावरणीय प्रदूषण तीव्र रूपमा बढ्दै गएको छ,’ उनले भने।

धरान उपमहानगरपालिकाका नगर प्रमुख अइन्द्रविक्रम बेघाले स्थानीयस्तरबाट ठूलो बजेट विनियोजन गर्न नसकिएका कारण वैकल्पिक ऊर्जा र फोहर व्यवस्थापनको क्षेत्रमा समस्या देखिएको बताए। धरानमा सौर्य ऊर्जा र फोहरबाट ऊर्जा उत्पादन गर्ने प्रचुर सम्भावना भए पनि नीतिगत अस्पष्टता र लगानीको अभावका कारण समस्या देखिएको उनको भनाइ छ।

स्थानीयस्तरमा फोहरलाई स्रोतमै कुहिने र नकुहिने गरी वर्गीकरण गरेर उचित प्रयोग गर्नसके त्यहीँबाट ऊर्जा प्रवर्द्धन गर्न सकिन्थ्यो। नगर प्रमुख बेघाले भने, ‘प्रविधि महँगो हुनु र स्थानीय सरकारसँग पर्याप्त बजेट नहुँदा यो सम्भव हुन सकेको छैन।’ परम्परागत इन्धन र केन्द्रीय प्रसारणको बिजुलीमा मात्र भर नपरी यसका लागि उपमहानगरपालिकाले नवीकरणीय ऊर्जा प्रवर्द्धनका लागि छुट्टै कोष स्थापना र ठोस कार्यनीति ल्याउनु आवश्यक रहेको उनले बताए।

फोहरमैला व्यवस्थापनसँगै वायोग्यास ग्यास उत्पादन गर्ने भनी धरान-६ मा फोहरमैला प्रशोधन केन्द्र स्थापना गरिएको थियो अहिले उक्त केन्द्र बन्द भएपछि नगरभित्र संकलन गरिएको फोहरमैला धरान उपमहानगरपालिका-१५ स्थित बाझगरा सामुदायिक वन क्षेत्रको सेउती खोला किनारमा जथाभाभी विसर्जन (डम्पिङ) गर्ने गरिएको छ।

अव्यवस्थित फोहरका कारण धरानको जैविक विविधताले भरिएको वन क्षेत्र र आसपासका मानव बस्तीहरू प्रत्यक्ष संकटमा परेका छन्। फोहर विसर्जन गर्ने क्षेत्र वैज्ञानिक र व्यवस्थित नहुँदा स्थानीय समुदाय, रैथाने वनस्पति तथा वन्यजन्तुले बहुआयामिक चुनौती सामना गरिरहेको बाझगरा सामुदायिक वन उपभोक्ता समितिका उपाध्यक्ष कुमार भारतीले बताए। यो गम्भीर समस्याबारे हामीले उपमहानगरपालिकालाई पटकपटक ध्यानाकर्षण गराए पनि अहिलेसम्म कुनै ठोस र दिगो समाधान अघि बढ्न सकेको छैन।

उनले भने,’धरानको फोहरमैलाको दीर्घकालीन व्यवस्थापनका लागि विगतमा प्रयास नभएका भने होइनन्। करोडौँको निजी लगानीमा धरान उपमहानगरपालिका-६ पानवारीमा ‘भेन्चर वेस्ट टु इनर्जी’ प्रालिले फोहर प्रशोधन केन्द्र निर्माण गरेको थियो।’ वार्षिक आम्दानीको एक प्रतिशत नगरपालिकालाई प्रदान गर्ने र २० वर्षपछि उपमहानगरपालिकालाई नै उक्त केन्द्र हस्तान्तरण गर्ने सम्झौतासहित २०७८ सालमा निजी क्षेत्रको लगानीमा निर्मित उक्त केन्द्रको उद्घाटन पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले गरेका थिए।

दैनिक दुई हजार केजी ग्यास र जैविक मल उत्पादन गर्ने तथा उत्पादित ग्यासबाट धरानका चार सयभन्दा बढी टेम्पो सञ्चालन गर्ने लक्ष्यका साथ सञ्चालनमा ल्याइएको उक्त केन्द्र अहिले पूर्णरूपमा बन्द भएपछि वैकल्पिक ऊर्जा प्रवर्द्धन साथै फोहरमैला व्यवस्थापनमा समस्या भएको छ। करोडौँको लगानीमा बनेको प्रशोधन केन्द्र प्राविधिक तथा विविध व्यवस्थापकीय कमजोरीका कारण बन्द भएपछि धरानबाट निस्कने फोहर पुनः जंगल र खोला किनारमा फाल्न थालिएको हो।

अव्यवस्थित फोहरका कारण वन क्षेत्रमा आइपर्ने सबैभन्दा प्रमुख र तत्कालीक खतरा डढेलो बनेको छ। संकलन गरिएको फोहरमा लापरबाहीपूर्वक आगो लगाइँदा जुनसुकै बेला वनमा डढेलो सल्किने उच्च जोखिम रहेको उपाध्यक्ष भारतीको भनाइ छ। यसका साथै सो क्षेत्र पछिल्लो समय वन्यजन्तु शिकारीहरूको रोजाइमा पर्न थालेको छ। ‘रातिको समयमा जंगली जनावरहरू खानेकुराको खोजीमा फोहर विसर्जन स्थलसम्म आउने गर्छन्। त्यो समयमा शिकारीहरूले पासो थाप्ने र सिकार गर्ने गरेको पाइएको छ’, उपाध्यक्ष भारतीले भने।

वन्यजन्तु मात्र नभएर यो क्षेत्र मानव सुरक्षा र कानुनी दृष्टिकोणले अत्यन्तै संवेदनशील बन्दै गएको छ। फोहर विसर्जन स्थल र धरानको मुख्य बजार क्षेत्रको भौगोलिक दूरी नजिक भएकाले त्यहाँबाट फैलिने रोगवाहक झिँगा र कीराहरू सजिलै मानव बस्तीसम्म पुग्ने गरेका छन। यसले आसपासका क्षेत्रमा सङ्क्रामक महामारीको जोखिम बढाएको उपाध्यक्ष भारतीले बताए।

धरानको अव्यवस्थित फोहरको असर छिमेकी स्थानीय तहसम्म समेत पुग्न थालेको छ। फोहरबाट निस्कने तीव्र दुर्गन्ध र प्लास्टिकजन्य फोहर जलाउँदा निक्लने विषाक्त धुवाँ हावाको माध्यमबाट इटहरी उपमहानगरपालिकाको तरहरा क्षेत्रसम्म पुग्ने गरेको छ। वर्षायाममा बाढीले फोहरको थुप्रो बगाएर तल्लोतटीय क्षेत्रका किसानहरूको खेतीयोग्य जमिनमा पुर्‍याउँदा बालीनाली नष्ट हुनुका साथै माटोको उर्वराशक्ति समेत कमजोर बन्ने खतरा बढेको छ।

धरान उपमहानगरपालिकामा लामो समयदेखि बहस र चिन्ताको विषय बन्दै आएको फोहर व्यवस्थापनको मुद्दा अहिले आएर वातावरणीय संकट मात्र नभई वन संरक्षण र सार्वजनिक सुरक्षाका लागि समेत गम्भीर चुनौती बनेको धरान उपमहानगरपालिकाका पूर्व उपप्रमुख मन्जु भण्डारीले बताए।

पूर्वउपप्रमुख भण्डारीले भने,’फोहर विसर्जन स्थल र प्राकृतिक वन क्षेत्रको निकटताका कारण बहुआयामिक समस्याहरू निम्तिएका छन। फोहरमैला व्यवस्थापनमा धरान उपमहानगरपालिका चुकेको छ यसमा स्थानीय प्रशासन र सरोकारवाला निकायको ध्यान जानु आवश्यक छ।’

धरान नगरको प्रमुख चुनौतीको रूपमा रहेको फोहर व्यवस्थापनलाई प्रभावकारी बनाउन उपमहानगरले नयाँ ‘डम्पिङ साइट’ र ‘ट्रिटमेन्ट साइट’ खोजी गरी ठोस कार्ययोजना अघि सार्नुपर्ने उनको भनाइ छ।

धरान-६ मा निजी क्षेत्रको करोडौँ रुपैयाँ लगानीमा निर्माण गरिएको फोहर प्रशोधन केन्द्र (बायोग्यास प्लान्ट) लाई नगरपालिकाले प्रोत्साहन र आवश्क सहयोग गर्न नसक्दा वैकल्पिक ऊर्जा प्रवर्द्धनमा ठूलो समस्या देखिएको भण्डारीले बताए। सम्झौतामा स्पष्ट हुँदाहुँदै पनि आवश्यक बजेट अभावका कारण देशकै नमूना बन्न सक्ने प्रोजेक्ट अहिले संकटमा परेको उनको भनाइ छ।

यो प्रशोधन केन्द्रमा वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र र बैंकहरूको ठूलो ऋण लगानी छ। यस्तो परियोजना डुब्नु भनेको एउटा निजी कम्पनी मात्र डुब्नु होइन केन्द्रीय सरकारको नीति असफल हुनु र राष्ट्रिय अर्थतन्त्र धरासायी हुनु पनि हो। उनले भने, ‘निजी क्षेत्र धरासायी भएर राष्ट्र समृद्ध हुन सक्दैन।’

देशभरका कार्यपालिकाले फोहरमैला व्यवस्थापनमा सामान्य प्रशासनिक काम गरिरहेको भए पनि यस्ता आधुनिक प्रशोधन केन्द्रहरू नेपालमा बिरलै बन्ने गरेका छन्। उनले भने,’यसलाई पुनः सञ्चालन गर्न सके धरानले फोहरमैला व्यवस्थापन र बैकल्पिक ऊर्जा उत्पादनमा देशकै लागि नमुना मोडेल प्रस्तुत गर्न सक्ने छ।’

फोहरमैला व्यवस्थापनका नाममा मात्र नगरपालिकाले ट्र्याक्टर खरिद र सफाइ कर्मचारीको तलबमा वार्षिक रूपमा करोडौँ खर्च गर्ने गरेको छ। यदि निजी क्षेत्रलाई फोहरमैला प्रशोधनको जिम्मेवारी दिएर समन्वय मात्र गर्ने हो भने यो खर्च कटौती भई उपमहानगरपालिकाको आम्दानीमा वृद्धि हुने उनले बताए।

अहिले व्यवस्थित प्रशोधन केन्द्र नहुँदा जंगलमा जथाभाभी फालिएको र जलाइएको फोहरले वन्यजन्तु, बोटबिरुवा र मानव स्वास्थ्यमा गम्भीर असर पुर्‍याएको छ। वन क्षेत्रमा फोहर फाल्दा नयाँ पालुवा पलाउँदै गरेका बोटबिरुवा मासिने र फोहर फालिएका वरपरका बोटबिरुवा मरिसकेका छन् चराचुरुङ्गी र जनावर विस्थापित भएका छन जसले गर्दा वन्यजन्तुको प्राकृतिक चक्र बिग्रँदो छ। साथै, फोहर जलाउँदा निस्कने धुवाँका कारण स्थानीय नागरिकको स्वास्थ्यमा समेत गम्भीर असर परेको उनको भनाइ छ।

प्रविधिको सही प्रयोग गरेर कुहिने फोहरबाट बायोग्यास र नकुहिने प्लास्टिकजन्य फोहरबाट अलकत्रा वा अन्य उपयोगी सामग्री बनाउने उद्योगलाई प्रोत्साहन गर्नुपर्ने पूर्वउपप्रमुख भण्डारीको सुझाव छ। यसबाट धरानमा दैनिकरूपमा संकलन हुने फोहरको दीर्घकालीन व्यवस्थापन हुनुका साथै वैकल्पिक ऊर्जाको प्रवर्द्धन भई अतिरिक्त आम्दानी गर्न सकिने उनले बताए। २०७८ सालमा निर्माण सम्पन्न भई सञ्चालनमा आएको उक्त केन्द्रबाट जैविक मल र बायोग्यास उत्पादन सुरु भएर दुई वर्षसम्म सञ्चालन गरिएको थियो तर हाल यो परियोजना पूर्णरूपमा ठप्प बनेको हो।

परियोजनाका निर्माण कन्सल्टेन्ट इन्जिनियर विवेक अग्रवालका अनुसार सङ्घीय सरकारको छ करोड अनुदानसहित करिब २७ करोडको लागतमा करिब एक बिघा जमिनमा प्रशोधन केन्द्र निर्माण गरिएको थियो।

उपमहानगरपालिकाले निजी कम्पनीसँगको साझेदारीमा फोहरबाट ऊर्जा उत्पादन गर्ने ‘वेस्ट टु इनर्जी’ परियोजनाअन्तर्गत यसलाई सञ्चालनमा ल्याएको भए पनि स्थानीय र सङ्घीय सरकारले आवश्यक चासो र आवश्यक सहयोग गर्न नसक्दा बन्द हुन पुगेको इन्जिनियर अग्रवालले बताए।

दैनिक ५० टन फोहर प्रशोधन गर्न सक्ने क्षमता रहेको उक्त केन्द्रबाट दैनिक एक हजार २०० किलोग्राम बायोग्यास र चार सय किलोग्राम जैविक मल उत्पादन हुने गरेको थियो। लामो समयदेखि केन्द्र बन्द रहेका कारण यसलाई पुनः सञ्चालनमा ल्याउन निकै कठिन रहेको र सुरुवाती चरणकै जस्तो ठूलो खर्च लाग्ने भएकाले तत्काल सञ्चालन गर्न सहज नभएको अग्रवालको भनाइ छ।

धरान उपमहानगरपालिकाका वातावरण अधिकृत भेषराज घिमिरेका अनुसार प्रशोधन केन्द्रका लागि धरानको फोहरले मात्र नपुगेपछि छिमेकी स्थानीय तहहरूबाट फोहरमैला जुटाउने प्रयास गरिएको थियो तर सरकारका विभिन्न नीतिगत कठिनाइ र उत्पादित ग्यास प्रयोगमा देखिएका कानुनी तथा व्यवहारिक समस्याका कारण निजी क्षेत्रले यो केन्द्र सञ्चालन गर्न नसकेको उनले बताए।

उपमहानगरपालिकाले प्रशोधन केन्द्रका प्रतिनिधिहरूलाई बोलाएर सञ्चालनमा देखिएका समस्या समाधानका लागि चाँडै नै संवाद अगाडि बढाउने तयारी गरेको छ। अधिकृत घिमिरेले भने,’यो प्रशोधन केन्द्र पूर्ण रूपमा सञ्चालनमा आउन सके धरानको फोहर व्यवस्थापन र वैकल्पिक ऊर्जा उत्पादनमा ठूलो सहयोग हुनेछ।’

धरानमा दैनिक ३० देखि ३२ टनसम्म फोहर संकलन हुने गरेको छ। फोहर व्यवस्थापनका लागि उपमहानगरपालिकाको वार्षिक साढे चार करोड खर्च हुने गरेकोमा फोहर संकलन शुल्कबाट भने करिब साढे दुई करोड मात्र आम्दानी हुने गरेको उनले जानकारी दिए प्रशोधन केन्द्र बन्द भएपछि धरानको फोहरलाई नियमित रूपमा धरान-१५ स्थित सामुदायिक वन नजिकै नदी उकास जग्गामा खुला रूपमा डम्पिङ गर्ने र जलाउने गरिएको छ। फोहर जलाउँदा निस्कने बाक्लो धुवाँका कारण ऐतिहासिक चारकोसे जंगल क्षेत्र दिउँसै अँध्यारो हुने अवस्था सिर्जना भएको छ।

जंगल क्षेत्रमा उड्ने धुवाँका कारण नजिकै रहेको कोशी राजमार्गमा आवतजावत गर्ने सवारीसाधन र सर्वसाधारणले ठूलो सास्ती भोग्नु परिरहेको छ। धुवाँले गर्दा सडकमा ‘भिजिबिलिटी’ (दृश्यता) कम भई सवारी दुर्घटनाको जोखिम उच्च बनेको छ जसले यात्रुहरूको सुरक्षामै गम्भीर चुनौती थपेको छ।

डम्पिङसाइटमा कबाडी सामान संकलन गर्ने व्यक्तिहरूले फलाम र तामाजस्ता धातु खोज्ने बहानामा रात्रिकालीन समयमा आगो लगाइदिने गरेका छन्। प्रमुख घिमिरेका अनुसार यस्ता अनधिकृत र प्रदूषणकारी गतिविधिलाई नियन्त्रण गर्न अब चाँडै नगरपालिकाले डम्पिङ साइटको व्यवस्थापन गरी प्रवेशद्वारमा गेट निर्माण गरिने र चौकीदार राखेर बाहिरी व्यक्तिहरूको प्रवेशमा पूर्ण निषेध गरिने व्यवस्था मिलाइने उनले बताए।

धरान मात्र नभएर समग्र सहरी क्षेत्रकै सबैभन्दा ठूलो चुनौती अहिले प्लास्टिकजन्य फोहर बन्न पुगेको छ। विगत १० देखि १५ वर्षअघिको तथ्यांक हेर्दा कूल फोहरमा प्लास्टिकको हिस्सा १० देखि १५ प्रतिशतको हाराहारीमा मात्र हुने गरेकोमा गत वर्ष गरिएको एक अध्ययनले यो मात्रा बढेर २५ प्रतिशतभन्दा माथि पुगेको अधिकृत घिमिरेको भनाइ छ।

प्लास्टिकजन्य फोहरको यो अत्यधिक वृद्धिलाई रोक्न र व्यवस्थापनलाई दिगो बनाउन अब उपमहानगरपालिकाले फोहरलाई स्रोतमै वर्गीकरण गर्ने रणनीति बनाउने उनले बताए। पुनःप्रयोग वा रिसाइकल हुनसक्ने फोहरलाई घर र टोलस्तरमै छुट्याएर बाँकी रहेको फोहरलाई मात्र डम्पिङ साइटमा लैजाने गरी नयाँ योजना अघि सारिने उनले बताए।