घरमा बच्चा मात्रै भएको मौका पारेर ६ लाख बढीको सुनका गहना चोर्ने दुई जना पक्राउ


काठमाडौं  –  सुनका गरगहना तथा नगद चोरी प्रकरणमा संलग्न दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा सर्लाहीको लालबन्दी नगरपालिका घर भई काठमाडौंको कागेश्वरी बस्दै आएका भुवन बहादुर साह शंकर र सिन्धुपाल्चोकको जुगल गाउँपालिका घर भई काठमाडौंको कागेश्वरी बस्दै आएका बिराज सुनार रहेका छन् । 

प्रहरीका अनुसार शंकरले कास्कीको पोखरा महानगरपालिका–१५ मेरिगोल्डस्थित एक घरमा बालिका मात्रै रहेको मौका छोपी झ्याल–ढोकाको नाप लिन आएको भन्दै प्रवेश गरेका थिए। त्यस क्रममा उनले घरको दराज तोडफोड गरी करिब ६ लाख ५० हजार रुपैयाँ बराबरका सुनका गरगहना तथा १३ हजार रुपैयाँ नगद चोरी गरेका थिए।

घटनापछि वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको प्रहरी टोलीले प्राविधिक अनुसन्धानका आधारमा शंकरको संलग्नता खुलाएको थियो। त्यसपछि प्रहरी प्रभाग काँडाघारी, काठमाडौंको सहयोगमा उनलाई पक्राउ गरी थप अनुसन्धान गरिएको प्रहरीले जनाएको छ।

अनुसन्धानका क्रममा चोरी गरिएका सुनका गरगहना शंकरले बिराज सुनारलाई बिक्री गरेको खुल्न आएको थियो। त्यसपछि प्रहरीले सुनारलाई समेत पक्राउ गरेको हो। प्रहरीले दुवै जनाविरुद्ध चोरी तथा डाँका सम्बन्धी कसुरमा कास्की जिल्ला अदालतबाट छ दिनको म्याद थप अनुमति लिई थप अनुसन्धान गरिरहेको जनाएको छ।

प्रहरीले उनीहरूको साथबाट सुनको एक थान तिलहरी, एक थान चन्द्रमा, दुई थान झुम्का, तीन थान औँठी, एक थान मुन्द्रा, चार थान चाँदीका बाला, दुई थान सिक्का, एक थान सिक्री तथा ८१ हजार ५०० रुपैयाँ नगद बरामद गरेको छ।