बेलायती गुणस्तर परीक्षणमा फेरि सफल द ब्रिटिस कलेज, पायो पुनः अन्तर्राष्ट्रिय मान्यता


काठमाडौं – द ब्रिटिस कलेजले बेलायती गुणस्तर परीक्षण निकाय British Accreditation Council (बीएसी) बाट पुनः अन्तर्राष्ट्रिय मान्यता प्राप्त गरेको छ। यससँगै कलेजले नेपालकै पहिलो तथा हालसम्म एकमात्र शैक्षिक संस्थाका रूपमा उक्त मान्यता कायम राख्न सफल भएको जनाएको छ।

द ब्रिटिस कलेज (The British College) अन्तर्गत जारी विज्ञप्तिअनुसार बीएसीको मान्यता सन् २०३० मे ३१ सम्म कायम रहनेछ । यो मान्यता प्राप्त गर्न बेलायतबाट आएको निरीक्षण टोलीले कलेजको शैक्षिक कार्यक्रम, अध्यापनको गुणस्तर, संस्थागत सुशासन, विद्यार्थी सेवा, भौतिक पूर्वाधार, अनलाइन शिक्षण प्रणाली तथा स्नातकहरूको रोजगारी सम्भावनालगायत पक्षको विस्तृत मूल्यांकन गरेको थियो ।

सन् १९८४ मा स्थापना भएको British Accreditation Council लाई बेलायत तथा अन्तर्राष्ट्रिय स्तरमा स्वतन्त्र उच्च शिक्षा संस्थाको गुणस्तर परीक्षण गर्ने प्रतिष्ठित निकाय मानिन्छ। यसको मान्यता शैक्षिक उत्कृष्टता, पारदर्शिता र संस्थागत सुशासनको अन्तर्राष्ट्रिय सूचकका रूपमा लिइन्छ।

द ब्रिटिस कलेजका एकेडेमिक डिन डा. डेक्लान पी. ब्याननले यो उपलब्धिले कलेजको शैक्षिक प्रणाली र अन्तर्राष्ट्रियस्तरको शिक्षा दिने प्रतिबद्धताको पुष्टि गरेको बताए। कलेजका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत राजन कँडेलले नेपालमा यस्तो मान्यता प्राप्त गर्ने पहिलो कलेज हुनु गौरवको विषय भएको उल्लेख गरे।

कलेजले पछिल्लो समय केही समूहबाट फैलाइएको भ्रामक सूचना र संस्थालाई लक्षित गतिविधिका बाबजुद स्वतन्त्र अन्तर्राष्ट्रिय मूल्यांकन प्रक्रियाबाट पुनः मान्यता प्राप्त गर्न सफल भएको दाबी गरेको छ। कलेजका अनुसार यसले अन्तर्राष्ट्रिय मापदण्डअनुसार संस्थागत व्यवस्थापन कायम रहेको स्वतन्त्र प्रमाणसमेत प्रस्तुत गरेको छ।