प्रहरी महानिरीक्षक दान बहादुर कार्कीको प्रमुख आतिथ्यतामा पुस्तक विमोचन कार्यक्रम सम्पन्न


काठमाडौं – प्रहरी महानिरीक्षक दान बहादुर कार्कीको प्रमुख आतिथ्यतामा नेपाल पुलिस क्लब भृकुटीमण्डपमा बुधवार आयोजित समारोह बिच अवकाश प्राप्त प्रहरी वरिष्ठ उपरीक्षक डा.गणेश रेग्मीद्वारा लिखित ‘पुलिस एन्ड रूल्स अफ ल’ नामक पुस्तक विमोचन कार्यक्रम सम्पन्न भएको छ।  

उक्त अवसरमा समारोहका प्रमुख अतिथि प्रहरी महानिरीक्षक दान बहादुर कार्कीका साथै विशिष्ट अतिथिहरूले संयुक्त रूपमा उक्त पुस्तकको विमोचन गरेका थिए । कार्कीले यस गहन र सान्दर्भिक कृतिको सफल प्रकाशनका लागि अवकाश प्राप्त प्रहरी वरिष्ठ उपरीक्षक डा। गणेश रेग्मीलाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दै यस सिर्जनाको भाव नरोकियोस तथा आगामी सिर्जनात्मक यात्रा अझ धेरै फलदायी होस् भन्ने कामना समेत गरे।

साथै अवकाश प्राप्त प्रहरी वरिष्ठ उपरीक्षक रेग्मीको कलमबाट हामीलाई मार्गदर्शन गर्ने, समाजलाई मार्गदर्शन गर्ने, मुलुकलाई समृद्धितर्फ लाने र कानुनी शासनलाई व्यवस्थित गर्न एवम् स्थापित गर्न सहयोग गर्ने किसिमका थप कृतिहरू र सिर्जनाहरू प्राप्त भइरहने समेत उनले उल्लेख गरे। 

सो अवसरमा पूर्व रजिष्टार तथा नेश्नल ल कलेजका प्राचार्य राम कृष्ण तिमल्सिना, पूर्व सचिव खेमराज रेग्मी र अवकाश प्राप्त प्रहरी महानिरीक्षक मोतिलाल बोहराले आ–आफ्नो शुभकामना मन्तव्य व्यक्त गरेका थिए। साथै सो अवसरमा अवकाश प्राप्त प्रहरी अतिरिक्त महानिरीक्षक देवेन्द्र सुवेदी र पूर्व नायव महान्यायाधिवक्ता सूर्य कोइरालाले पुस्तकको समीक्षा गर्दै पुस्तकमा समेटिएका विषयवस्तु एवम् लेखकको लेखन कौशलताका बारेमा चर्चा गरेका थिए।