बैंकिङ्ग डिस्कोर्श २०२६

‘कृषिमा लगानी भएअनुसार बजारीकरण हुन सकेन’


हाम्रो अर्थतन्त्र र समृद्धिको मुख्य आधार नै कृषि हो। त्यसैले यस क्षेत्रका समस्या र सम्भावनाका बारेमा हामीले अझ बढी बहस गर्नुपर्ने आवश्यकता छ। तर, जब हामी कृषिको आधुनिकीकरण र विकासको कुरा गर्छौँ, त्यहाँ हाम्रो स्रोतसाधन र मानव संसाधनको असन्तुलन मुख्य चुनौतीका रूपमा देखा पर्छ। अहिले हाम्रो कृषि क्षेत्रमा जनशक्तिको ठुलो अभाव छ। बजारको ट्रेन्ड हेर्ने हो भने, ५० वर्षभन्दा माथिको उमेर पुगेका मानिसहरू मात्रै ‘कृषिमा केही गरौँ’ भन्ने सोचका साथ आउनुहुन्छ। विडम्बना, त्योभन्दा कम उमेरका युवा पुस्तामा कृषिमा काम गरौँ भन्ने सोच नै देखिँदैन।

यसको पछाडि हाम्रो सामाजिक सोच जिम्मेवार छ। पढेलेखेको मान्छेले कृषिमा काम गर्नु हुँदैन, यो त नपढेका वा कमजोरहरूको पेसा हो भन्ने गलत सामाजिक दृष्टिकोण समाजमा व्याप्त छ। यही सोचका कारण ५० वर्षभन्दा कम उमेरका युवाहरू कृषिमा आबद्ध हुन सकिरहेका छैनन्, जुन देशका लागि चिन्ताको विषय हो।

जहाँसम्म वित्तीय पहुँचको कुरा छ, राष्ट्रिय वाणिज्य बैंकको हकमा कृषिमा लगानी निकै राम्रो छ। हामीसँग कृषि क्षेत्रमा लगानी गर्ने विशेष आकर्षण र प्राथमिकता छ। यसका मुख्य दुई वटा पक्ष छन्। पहिलो, राष्ट्रिय वाणिज्य बैंकको नेटवर्क देशैभरि निकै ठुलो छ र दोस्रो, हाम्रो प्राथमिकतामै कृषि कर्जा पर्छ। हामीले साना किसानहरूलाई उत्प्रेरित गर्न साना किसान कर्जाअन्तर्गत निकै सस्तो ब्याजदरमा ऋण उपलब्ध गराउँदै आइरहेका छौँ। आजको दिनमा हामीले कुनै पनि सेवा शुल्क (सर्भिस चार्ज) नलिई मात्र ४ दशमलव ४७ प्रतिशत ब्याजदरमा कृषि कर्जा उपलब्ध गराइरहेका छौँ।

साना किसानका लागि १० लाख रुपैयाँसम्मको कर्जा भनेको आफ्नो व्यवसाय सुरु गर्न र चलाउन पर्याप्त रकम हो। तर, वित्तीय संस्थाले सस्तोमा ऋण दिँदादिँदै पनि कृषि कर्जामा जोखिम भने उत्तिकै उच्च छ। नेपालमा अझै पनि सिधै मौसममा आधारित कृषि खेती हुने भएकाले यसमा स्वाभाविक जोखिम रहन्छ। हाम्रोमा सिँचाइको राम्रो अवस्था छैन। अर्कोतिर, कृषकका लागि उपयुक्त बजार छैन र बजारसम्म पुग्नका लागि कृषकको सिधा पहुँच पनि हुँदैन। बिचौलिया र बजारको कमजोरीका कारण बजारमा पुगिसकेका वस्तु तथा उत्पादनले पनि सही मूल्य पाउन सक्दैनन्। कृषकले दुःख गरेर उत्पादन गरेको वस्तु पनि समयमै बिक्री हुन नसक्दा कृषि कर्जा बढी जोखिममा पर्ने गरेको छ।

अहिले हामी धेरैजसो व्यावसायिक वा कमर्सियल कृषिको कुरा गरिरहेका छौँ। तर, कमर्सियल कृषिले मात्रै ठुलो संख्यामा रोजगारी सिर्जना गर्न सक्दैन। जबसम्म हामीले साना किसानलाई ग्रामीण तहदेखि नै उत्प्रेरित गर्न सक्दैनौँ, तबसम्म कृषि क्षेत्रबाट वास्तविक रोजगारीको अवसर सिर्जना हुन सक्दैन।

कृषिको सबैभन्दा ठुलो चुनौती भनेको यसको स्थायित्व र निरन्तरता हो। व्यवसायको निरन्तरता नहुँदा र बजारको आवश्यकता बुझेर काम गर्न नसक्दा कृषिले अझै फड्को मार्न नसकेको हो। अहिले कुन वस्तुको बजारमा कति माग छ, अर्थात् आवश्यकता के हो, त्यसलाई हेरेर मात्र उत्पादन गर्नुपर्ने हुन्छ। स्थानीय तहका धेरै प्रतिनिधिहरू कृषि कर्जाको माग गर्दै बैंकसम्म आउनुहुन्छ। तर, उहाँहरूसँग कसरी काम गर्नुहुन्छ ? भनेर सोध्दा कुनै ठोस योजना वा व्यावसायिक खाका नै हुँदैन। बिना योजना कृषिमा सफलता पाउन सकिँदैन।

त्यसैले, कृषिको वास्तविक विकास गर्ने हो भने सबैभन्दा पहिला हामीले कृषक र कृषि पेसालाई सामाजिक रूपमा सम्मान गर्न सिक्नुपर्छ। कृषकलाई सम्मान नगरेसम्म कृषिमा राज्य वा बैंकले जे जति लगानी गरे पनि यस क्षेत्रको वास्तविक विकास हुन सक्दैन। अहिले कृषिमा जुन हिसाबको लगानी भइरहेको छ, सोही अनुसार यसको व्यापारीकरण र बजारीकरण हुन सकेको छैन। लगानीलाई सही प्रतिफलमा बदल्न अब उत्पादनसँगै बजार व्यवस्थापन र कृषकको सम्मानमा ध्यान दिनु अपरिहार्य छ।

(राष्ट्रिय वाणिज्य बैंकका सीईओ खनालले बैंकिङ्ग डिस्कोर्शको दोस्रो सत्र कृषिमा लगानी विस्तारः बैंक, सरकार र निजी क्षेत्रको भूमिका’सत्रमा राखेको धारणाको सम्पादित अंश)