प्रहरीको अनुसन्धान प्रक्रियालाई प्रभावकारी बनाउन प्रविधिको प्रयोगमा जोड दिने


काठमाडौं – सरकारले नेपाल प्रहरीको अनुसन्धान र अभियोजन प्रक्रियालाई प्रभावकारी बनाउन प्रविधिको प्रयोगमा जोड दिने भएको छ। अर्थमन्त्री वाग्लेले आगामी आर्थिक वर्ष २०८३/८४ बजेट प्रस्तुत गर्दै यस्तो बताएका हुन्। उनले बजेट प्रस्तुत गर्दै  विधि विज्ञान प्रयोगशाला, अनुसन्धानमा कृत्रिम बुद्धिमत्ताको प्रयोग तथा भौतिक पूर्वाधार विकासमा लगानी वृद्धि गर्ने बताएका हुन्। 

नेपाल प्रहरी र सशस्त्र प्रहरीको अवकाशको सेवा अवधि र निवृत्तभरण सुरु हुने अवधिकाबीचमा रहेको विद्यमान अन्तर पूनरावलोकन गर्ने विषयमा अध्ययन गर्ने उनले बताएका छन्। साथै, सशस्त्र प्रहरी बल नेपाललाई अन्तर्राष्ट्रिय सीमा सुरक्षाको डेडिकेटेड व्यवसायिक फोर्सको रूपमा विकास गर्ने बताइएको छ। कारागारको सुदृढीकरण, क्षमता विस्तार तथा खुला कारागारको अवधारणा कार्यान्वयन गरी सुधार गृहका रूपमा रूपान्तरण गर्दै लगिने भएको छ। 

विपद् प्रतिकार्यमा संलग्न जनशक्ति र स्वयंसेवकको क्षमता विकास गरिने भएको हो। विपद् पश्चातको क्षतिपूर्ति, राहत र पुनर्निर्माणका लागि बीमा लगायतका जोखिम हस्तान्तरणका उपकरणको विस्तार गर्ने बताइएको छ।