नेपाली प्रविधि कम्पनी टिङटिङको व्यावसायिक सञ्चार प्रणाली श्रीलंकामा 


काठमाडौं- नेपाली प्रविधि कम्पनी टिङटिङले श्रीलंकामा सेवा दिने भएको छ। कम्पनीले श्रीलंकाको इफेक्टिभ सोलुसन्ससँग साझेदारी गर्दै त्यहाँ एआईमा आधारित व्यावसायिक सञ्चार प्रणाली उपलब्ध गराउने भएको हो। दुवै कम्पनीबीच भएको सम्झौताअनुसार श्रीलंकाका व्यवसाय, उद्यम तथा सार्वजनिक सेवामा आधुनिक सञ्चार प्रविधि प्रयोगलाई सहज बनाइनेछ। इफेक्टिभ सोलुसन्स श्रीलंकामा व्यवसाय र स्टार्टअप प्रवर्द्धन गर्ने सार्वजनिक संस्था ट्रेसमा सूचीकृत कम्पनी हो।

ट्रेसले नयाँ व्यवसाय, आविष्कार तथा उद्यमशीलता प्रवर्द्धनमा सहयोग गर्दै आएको छ। टिङटिङले श्रीलंकामा कार्यालय स्थापना गरी स्थानीय ग्राहकलाई प्रत्यक्ष सेवा दिने तयारीसमेत अघि बढाएको जनाएको छ। कम्पनीले हाल नेपालमा बैंक, बीमा कम्पनी, इन्टरनेट सेवा प्रदायक, सरकारी निकाय तथा विभिन्न संघसंस्थासँग सहकार्य गर्दै आएको छ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत मनिष शर्माले नेपालबाट प्रविधि निर्यात गर्ने सरकारी लक्ष्यअनुरूप टिङटिङले काम गरिरहेको बताए। ‘हामी विश्वव्यापी रूपमा विस्तार हुने योजनामा छौं। श्रीलंकामा सेवा विस्तार त्यसै अभियानको एउटा महत्त्वपूर्ण पाइला हो,’ उनले भने, ‘नेपालबाट आईटी तथा प्रविधि सेवा निर्यात गर्ने सरकारी सोचलाई व्यवहारमा उतार्न पाउँदा हामीलाई गर्व लागेको छ। यसले नेपालमा रोजगारी सिर्जना र प्रविधि क्षेत्रको विकासमा पनि योगदान पुर्याउँछ।’

इफेक्टिभ सोलुसन्सका निर्देशक हमिन्दा जयवेराले नेपाली कम्पनीसँग एआईमा आधारित सेवा र समाधानमा सहकार्य गर्न पाउनु सकारात्मक अवसर भएको बताए। उनका अनुसार यस साझेदारीले श्रीलंकाका उद्यमी तथा सेवा प्रदायकलाई ग्राहक व्यवस्थापन र सञ्चार प्रणाली सुधार गर्न सहयोग पुग्नेछ। हाल श्रीलंकाका धेरैजसो व्यवसायले ग्राहकसँग टेलिफोन, सन्देश, सामाजिक सञ्जाल, इमेल, वेब च्याट तथा कल सेन्टरमार्फत छुट्टाछुट्टै सम्पर्क गर्दै आएका छन्। यसले सन्देश छुट्ने, प्रतिक्रिया दिन ढिलाइ हुने, ग्राहकको अघिल्लो विवरण हराउने तथा सेवा गुणस्तर मापन गर्न कठिन हुने समस्या देखिएको कम्पनीले जनाएको छ।

यिनै चुनौती समाधान गर्न टिङटिङले आफ्नो एआइसञ्चालित सञ्चार प्रणाली ‘टिङटिङ सुइट’ श्रीलंकामा उपलब्ध गराउन लागेको हो। यसअन्तर्गत टिङटिङ कल ब्रोडकास्ट, टेक्स्ट, फर्म, एजेन्ट्स्, ओम्नी, र कनेक्ट लगायत सेवा छन्। कम्पनीका अनुसार यी प्रणालीमार्फत ग्राहकसँगको सम्पर्क, प्रतिक्रिया संकलन, बहु-माध्यमीय संवाद व्यवस्थापन तथा कल सेन्टर सञ्चालन एउटै प्लेटफर्मबाट गर्न सकिन्छ।

साथै प्रत्येक कलको अभिलेखन, प्रतिलेखन, भावनात्मक विश्लेषण, एआईद्वारा तयार पारिएको सारांश तथा प्रत्यक्ष विवरण प्यानलमार्फत व्यवस्थापन टोलीले ग्राहकको अनुभव र सेवा गुणस्तरबारे स्पष्ट जानकारी पाउन सक्छ। व्यावसायिक सञ्चारलाई सरल, एकीकृत र प्रभावकारी बनाउने लक्ष्यसहित टिङटिङले काम गरिरहेको जनाएको छ। यसअघि कम्पनीले वेब समिट कतार २०२६ मा नेपालको प्रतिनिधित्व गर्दै आफ्नो प्रविधि अन्तर्राष्ट्रिय मञ्चमा प्रस्तुत गरेको थियो। श्रीलंकामा सेवा विस्तारसँगै ‘नेपालमा बनेको, विश्वका लागि’ भन्ने आफ्नो अभियान थप सार्थक बनेको कम्पनीको भनाइ छ।