इलेभेटेड पोड प्रणालीबारे ‘कैलिक’: नवप्रवर्तनमै छ भविष्य


काठमाडौं – नेपालको पूर्वाधार विकास क्षेत्रमा नवप्रवर्तन र प्रविधिमा आधारित उद्यमशीलतालाई अघि बढाउने उद्देश्यसहित ‘कैलिक’ अभियानको आवश्यकता झन् स्पष्ट हुँदै गएको बताइएको छ। इलेभेटेड पोड यातायात प्रणालीसम्बन्धी विगतका अध्ययनहरूसँगै पछिल्लो ३–४ घण्टाको प्राविधिक तथा आर्थिक मूल्यांकनपछि यस्तो निष्कर्ष सार्वजनिक गरिएको हो।

सेन्टर फर एकेडेमिया इन्डस्ट्रि लिंकेज एण्ड इन्टरनेशनल कोल्याब्रेसन (कैलिक)का प्रमुख डा शंकर ढकालका अनुसार २१औँ शताब्दी सुहाउँदो इलेभेटेड पोडजस्ता आधुनिक यातायात प्रविधिको विकास, प्रविधि हस्तान्तरण, आवश्यक नीति निर्माण तथा कार्यान्वयनमा देखिएका चुनौतीहरू अब संगठित रूपमा उठाइनेछ। ‘अब यी विषयहरू ‘कैलिक’को सशक्त आवाजमार्फत सार्वजनिक बहसमा ल्याइनेछन्,’ उनले बताएका छन्।

उनले सामाजिक सञ्जालमा देखिने पूर्वाधार इन्जिनियरिङ् तथा एआईमा आधारित नवप्रवर्तनविरुद्धका प्रतिक्रियालाई ‘अल्पज्ञान र कतिपय अवस्थामा बदनियतमा आधारित’ भन्दै आलोचना गरेका छन्। नयाँ सरकार गठनसँगै यस्ता पुरातनवादी सोचको अन्त्य हुनुपर्ने उनको धारणा छ। अन्तर्राष्ट्रिय रूपमा प्रमाणित प्रविधिलाई स्थानीय सन्दर्भअनुकूल सुरक्षित रूपमा कार्यान्वयन गर्नुपर्नेमा प्रविधि हस्तान्तरणमा संलग्न उद्यमीहरूलाई नै निरुत्साहित गर्ने वातावरण बनेकोप्रति उनले चिन्ता व्यक्त गरेका छन्।