सूर्यज्योति लाइफ इन्स्योरेन्समा रहेको ८ लाख बढी संस्थापक शेयर बेच्दै एनआईशी एशिया


काठमाडौं – एनआईसी एशिया बैंक लिमिटेडले आफ्नो स्वामित्वमा रहेको सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको संस्थापक समूहको शेयर बिक्री गर्न गोप्य शिलबन्दी बोलपत्र आह्वान गरेको छ। बैंकले आजदेखि (वैशाख २१) सो शेयरमा बोलपत्र पेश गर्न आह्वान गरेको हो।

बैंकले सूर्यज्योति लाइफको कुल ८ लाख ८७ हजार ८२५ कित्ता संस्थापक शेयर बिक्रीमा राखिएको छ। सो शेयरको न्यूनतम मूल्य प्रतिकित्ता १६५ रुपैयाँ तोकिएको छ। जसमा इच्छुक लगानीकर्ताले न्यूनतम ५ हजार कित्ता र अधिकतम सम्पूर्ण कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्।

गोप्य शिलबन्दी बोलपत्र पेश गर्ने अन्तिम दिन यही वैशाख २८ गतेसम्म रहेको छ। कम्पनीले यसअघि पनि विद्यमान संस्थापकहरूलाई प्राथमिकता दिर्दै ३५ दिने सूचना प्रकाशित गरेर सो शोयर बिक्रीमा राखेको थियो जसमा उनीहरुबाट आवेदन नपरेपछि अब भने कम्पनीले सर्वसाधारण लगायत सबैले बोलपत्र पेश गर्न सक्नेछन्।

बोलपत्र आवेदन फाराम काठमाडौंको थापाथलीस्थित ट्रेड टावर भवनमा रहेको एनआईसी एशिया क्यापिटल लिमिटेडबाट प्राप्त गर्न सकिनेछ। त्यस्तै, एनआईसी एशिया बैंक लिमिटेडको कर्पोरेट कार्यालयका साथै यसका विभिन्न शाखा कार्यालयहरु—विराटनगर–३ मोरङ, आदर्शनगर वीरगञ्ज, महेन्द्रपुल पोखरा, श्रवणपथ बुटवल, हस्पिटल लाइन धनगढी र वीरेन्द्रनगर सुर्खेत बाट पनि फाराम प्राप्त गरी सोही स्थानमा बुझाउन सकिने व्यवस्था गरिएको छ।