महासङ्घमा सकियो ढकालको कार्यकाल, श्रेष्ठ बने अध्यक्ष


काठमाडौं – अन्जन श्रेष्ठ नेपाल उद्योग वाणिज्य महासङ्घको २१ औं अध्यक्ष बनेका छन्। जारी ६०औं वार्षिक साधारणसभाबाट वर्तमान अध्यक्ष चन्द्र प्रसाद ढकालको कार्यकाल सकिएने भएसँगै श्रेष्ठ स्वतः अध्यक्ष बन्ने भएका हुन्।

वरिष्ठ उपाध्यक्ष सर्वसंवत अध्यक्ष बन्ने प्रावधानअनुसार श्रेष्ठ अध्यक्ष बन्ने भएका हुन्। महासङ्घको ६०औं वार्षिक साधारणसभा आजदेखि शुरु भएकाे छ। साधारणसभा सकिएसँगै श्रेष्ठ नयाँ अध्यक्ष बन्नेछन्।

नयाँ संशोधित विधानअनुसार अञ्जन श्रेष्ठको कार्यकालपछि अध्यक्ष पदमा पनि प्रत्यक्ष निर्वाचन हुने व्यवस्था गरिएको छ। त्यसैले श्रेष्ठ स्वतः अध्यक्ष बन्ने प्रावधानअन्तर्गत नेतृत्व सम्हाल्ने अन्तिम व्यक्ति हुनेछन्।

ललितपुरको ग्वार्कोस्थित होटेल रोयल टुलिप मा उद्घाटन सत्र आयोजना गरिएको छ। निर्वाचन कार्यक्रमअनुसार भोलि काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा–प्रतिष्ठान मा मतदान सम्पन्न गरिनेछ।

यसपटकको निर्वाचनमा ७३ सदस्यीय कार्यसमितिका लागि १३७ जनाले उम्मेदवारी दिएका छन्। कुल २ हजारभन्दा बढी मतदाता सहभागी हुने यस प्रक्रियामा एसोसिएट समूहको मत निर्णायक हुने अनुमान गरिएको छ। वरिष्ठ उपाध्यक्षदेखि विभिन्न उपाध्यक्ष र सदस्य पदसम्म प्यानलगत प्रतिस्पर्धामा उत्रिएका छन्।