काठमाडाैं – नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान)द्वारा आयोजित पाँचौं राष्ट्रिय लेखा व्यवसायी सम्मेलन काठमाडौंमा सम्पन्न भएको छ। दुई दिनसम्म चलेको सम्मेलन बुधबार सुरु भई बिहीबार समापन गरिएको हो।
सम्मेलनको मुख्य उद्देश्य लेखा व्यवसाय क्षेत्रका समसामयिक विषयमा छलफल गरी नीतिनिर्माण प्रक्रियामा सहयोग पुर्याउनु रहेको आइक्यानले जनाएको छ। यस वर्षको सम्मेलनको थिम ‘Strengthening Trust and Economic Governance: Catalyzing Nepal’s Economic Transformation’ रहेको थियो।
उद्घाटन सत्रमा महालेखापरीक्षक तोयम राय प्रमुख अतिथि रहरेका थिए । उनले जोखिममा आधारित लेखापरीक्षणको महत्व, पारदर्शिता र सुशासन सुदृढीकरणमा लेखा व्यवसायीको भूमिकामाथि जोड दिए। साथै डिजिटल अर्थतन्त्रमा तथ्याङ्कमा आधारित निर्णय प्रणाली आवश्यक रहेको उनको भनाइ थियो।
सम्मेलनमा पूर्व अर्थमन्त्रीहरू, नीति विज्ञ तथा नियामक निकायका प्रतिनिधिहरूले नेपालको आर्थिक अवस्था, पूँजीगत खर्च व्यवस्थापन, कर प्रणाली सुधार, तथा संस्थागत विश्वास सुदृढीकरणबारे धारणा राखेका थिए।
पहिलो प्राविधिक सत्रमा नेपालको आर्थिक परिदृश्य र नीति परिवर्तनबारे छलफल गरिएको थियो भने दोस्रो सत्रमा संस्थागत विश्वास र सुशासन सुदृढीकरणमा जोड दिइएको थियो। तेस्रो सत्र डिजिटल नवप्रवर्तन, फिनटेक र कृत्रिम बौद्धिकताको प्रयोगमार्फत आर्थिक रूपान्तरणमा केन्द्रित थियो।
दोस्रो दिनका सत्रहरूमा ESG अभ्यास, व्यावसायिक विकास तथा नेपाललाई विश्वव्यापी लेखा आउटसोर्सिङ हबका रूपमा विकास गर्ने सम्भावनाबारे छलफल गरिएको थियो।
सम्मेलनमा सहभागीहरूले पारदर्शिता, प्रविधि प्रयोग र नीतिगत सुधारमार्फत दिगो आर्थिक विकास सम्भव हुनेमा जोड दिएका थिए। सम्मेलनमा चार्टर्ड एकाउन्टेन्ट्स, लेखा व्यवसायी, नीति निर्माता तथा विभिन्न सरोकारवाला निकायहरूको उल्लेखनीय सहभागिता रहेको थियो। कार्यक्रमको प्रत्यक्ष प्रसारण आइक्यानको आधिकारिक फेसबुक र युट्युबमार्फत गरिएको थियो।
समापन सत्रमा उत्कृष्ट कर्मचारीलाई सम्मान गरिएको थियो भने आइक्यानका कार्यकारी निर्देशक सिए बिमल डंगोलले समापन मन्तव्य व्यक्त गरेका थिए।



About Us
प्रतिक्रिया