खाद्य संस्थानद्वारा ४३ लाखको सिमी खरिद


हुम्ला– खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय सिमकोट हुम्लाले चालु आर्थिक वर्षमा ४३ लाख १४ हजार छ सय रुपैयाँ बराबरको स्थानीयले उत्पादन गरेको सिमी खरिद गरेको छ।
 
कार्यालयका लेखापाल कैलाश ऐडीका अनुसार २३ हजार ९७० किलो सिमी खरिद गरी बिक्रीका लागि सुर्खेत पठाइएको हो। त्यसैगरी सदरमुकाम सिमकोट सडक सञ्जालसँग जोडिएपछि बजारमा पर्याप्त मात्रामा चामल उपलब्ध हुँदा गत वर्षहरूको तुलनामा हाल खाद्य संस्थानको चामलको बिक्री घटेको कार्यालयले जनाएको छ। 

चालु आर्थिक वर्षमा सो कार्यालयले पाँच करोड ७० लाख ७१ हजार ८२१ रुपैयाँ बराबरको चामल, तेल र चिनिए बिक्री गरी सात हजार ९४२ क्विन्टल चामल मौज्दात रहेको कार्यालयका लेखापाल ऐडीले बताए। 

यसैबीच हुम्लाको यारी भन्सार कार्यालय चार महिना पछि सञ्चालनमा आएको छ। नारा लेकको हिउँ पन्छाइसकेपछि सो नाका सञ्चालनमा आएको भन्सार कार्यालय प्रमुख रामराज जैसीले जानकारी दिए। उनका अनुसार गत आव २०८१-०८२ मा उक्त नाकाबाट १७ लाख ५४ हजार राजस्व संकलन भएको थियो। 

उक्त नाका भएर  हुम्लाका युवायुवतीहरू चीनको ताक्लाकोट काम गर्न जानेको सङ्ख्या समेत बढेको कार्यालय प्रमुख जैसीले बताए।