इटहरीमा ‘रमडा बाइ विन्डम’ सञ्चालनमा आउँदै


काठमाडौं – विश्वप्रसिद्ध होटल चेन विन्डम होटल्स एण्ड रिसोट्र्सले आफ्नो लोकप्रिय ब्रान्ड ‘रमडा बाइ विन्डम’लाई पूर्वी नेपालको व्यापारिक केन्द्र इटहरीमा विस्तार गर्दैछ। इटहरीस्थित पशुपति मार्गमा व्यवसायी देशबन्धु बस्नेत (अजित) को नेतृत्वमा निर्माण भइरहेको यस होटल अबको एक महिनाभित्र सञ्चालनमा आउनेछ।

नेपालकै महत्वपूर्ण व्यापारिक केन्द्रका रुपमा विकास तथा विस्तार भइरहेको सुनसरीको इटहरीमा रहेको यस होटलले व्यवसायिक तथा मनोरञ्जनात्मक उद्देश्यका साथ यात्रा गर्ने पर्यटकहरुलाई सेवा दिनेछ । होटलमा ८१ वटा आधुनिक कोठा रहनेछन्। जसमा डिलक्स, एक्जिक्युटिभ, जुनियर स्वीट र स्वीट कोठा समावेश छन्।

विश्वस्तरीय सुविधा

यस होटलमा विश्वस्तरीय सुविधा उपलब्ध हुनेछ। टेरेस बार र पूल बार, आल–डे डाइनिङ रेस्टुरेन्ट र कफी शप, दुईवटा ब्यांक्वेट हल र मिटिङ कोठा, कार्यक्रमका लागि आउटडोर लाउन, स्वीमिङ पूल, जिम, स्टीम–साउना र हेल्थ क्लब जस्ता आधुनिक सुविधा उपलब्ध हुनेछ।

यस होटलले स्थानीय क्षेत्रमा ८० भन्दा बढी रोजगारी सिर्जना गर्ने छ। साथै, इटहरीको भौगोलिक अवस्थिति र भारतका बिहार तथा पश्चिम बंगालसँगको दूरी नजिकै रहेकाले यस होटल विवाह, सभा तथा सम्मेलन र मनोरञ्जनका लागि आकर्षक गन्तव्य बन्ने अपेक्षा गरिएको छ।

पूर्वी नेपालको आतिथ्य क्षेत्रलाई नयाँ उचाइ दिने लक्ष्य

काठमाडौंमा सफल प्रोजेक्टका रुपमा मक्र्योर होटल सञ्चालनमा ल्याएका बस्नेतले पूर्वी नेपालको आतिथ्य सेवालाई अन्तर्राष्ट्रिय जगतमा परिचित गराउने लक्ष्यका साथ ‘रमडा बाइ विन्डम इटहरी’ सञ्चालनमा ल्याउन लागिएको बताएका छन्। ‘रमडा बाइ विन्डम इटहरीले पूर्वी नेपालको आतिथ्य क्षेत्रलाई नयाँ उचाइमा पु¥याउनेछ। यसले व्यवसाय, मनोरञ्जनसहित भारतसँगको सीमा पार पर्यटनलाई थप प्रोत्साहन र बढावा दिनेछ’ बस्नेतले भने, ‘हाम्रो लक्ष्य इटहरीलाई विवाह, सम्मेलन र पर्यटनका लागि प्रमुख गन्तव्यका रुपमा विकास गर्नु हो।’

सुनसरी जिल्लाको सबैभन्दा ठूलो शहर इटहरीलाई पूर्वी नेपालकै प्रमुख व्यापारिक राजधानी मानिन्छ। तीव्र आर्थिक विकास, व्यापारिक गतिविधि र भारतसहित दक्षिण एशियाली बजारसँगको सहज पहुँचले गर्दा इटहरी पर्यटन, व्यापार र लगानीका लागि प्रमुख गन्तव्य बन्दैछ। अमेरिकामा मुख्यालय रहेको विन्डम होटल्स एण्ड रिसोट्र्स विश्वकै सबैभन्दा ठूलो होटल फ्रेन्चाइजिङ कम्पनी हो।

एशियामा तीव्र गतिमा आफ्नो उपस्थितिलाई विस्तार गरिरहेको यस समूह अन्तर्गतको रमडा बाइ विन्डम ब्रान्ड विश्वव्यापी रुपमा लोकप्रिय मिड–स्केल होटल ब्राण्डका रुपमा परिचित छ। यसको इटहरी आगमनले पूर्वी नेपाललाई नयाँ हस्पिटालिटी हबको रूपमा स्थापित गर्ने विश्वास गरिएको छ। यो परियोजनाले स्थानीय र अन्तर्राष्ट्रिय दुबै बजारलाई सेवा दिने अपेक्षा गरिएको छ।

यसैबीच, बस्नेतले आफ्नो एबी होल्डिङमार्फत होटल, पूर्वाधार विकास, रियल स्टेट, स्वास्थ्य, उत्पादन लगायतका क्षेत्रमा लगानी गरेका छन्। उनले निकट भविष्यमा इटहरीमै ३ हजार जनाभन्दा बढीलाई एकैपटक सेवा दिन सक्ने सम्मेलन हल, नेपालकै ठूलो स्वीमिङ पूल, पूल–फेसिङ लक्जरी कोठा, वेलनेस र मनोरञ्जन केन्द्रसमेत विकास गर्दैछन्। उक्त परियोजना विन्डम होटल्स एण्ड रिसोट्र्सको गार्डेन इन ब्रान्डसँग सम्बन्धित हुनेछ।