काठमाडौं – काठमाडौं – सहरी विकासमन्त्री कुलमान घिसिङले जेनजी आन्दोलन र प्राकृतिक विपद् प्रभावित क्षेत्रहरूमा पुनर्निर्माण, पूर्वाधार सुधारलगायत काम तीव्र रूपमा अघि बढाइएको बताएका छन्। उनले मन्त्रालयको जिम्मेवारी सम्हालेको एक सयदिन पूरा भएको अवसरमा आज मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सहरी मन्त्रालयमार्फत सम्पादित कामको विवरण सार्वजनिक गरेका हुन्।
मन्त्री घिसिङका अनुसार आन्दोलनबाट क्षतिग्रस्त संरचनाको पुनर्निर्माण, सहरी पूर्वाधार विस्तार, फोहोर व्यवस्थापन, नदी संरक्षण र दीर्घकालीन सहरी योजना निर्माणमा उल्लेखनीय काम अघि बढाइएको छ। यस अवधिमा मन्त्रालयअन्र्तगतका चार रुग्ण ठेक्का तोडिएको छ।
जेनजी आन्दोलनका कारण क्षति पुगेका सरकारी संरचनामध्ये सामान्य क्षति (हरियो स्टिकर) भएका १४० भवनको पुनर्निर्माण अन्तिम चरणमा पुगेका मन्त्री घिसिङले जानकारी दिए। आंशिक क्षति (पहेँलो स्टिकर) भएका २४९ र पूर्ण क्षति (रातो स्टिकर) भएका ५१ भवनको विस्तृत क्षति मूल्याङ्कन ‘फास्ट ट्र्याक’मा भइरहेको बताउँदै उनले पुसभित्र पुनर्निर्माणका लागि बोलपत्र प्रक्रिया अघि बढाइने उल्लेख गरे।
खेल पूर्वाधारतर्फ त्रिवि क्रिकेट रङ्गशालाको पहिलो चरण निर्माण तथा ‘हाइमास्ट फ्लडलाइट’ जडान सम्पन्न गरी हस्तान्तरण गरिएको छ। साथै कीर्तिपुर क्रिकेट रङ्गशालाको गुरुयोजना स्वीकृत भई दोस्रो चरणको निर्माणका लागि १० अर्ब रूपैयाँ बराबरको स्रोत सुनिश्चितताको प्रक्रिया सुरु गरिएको मन्त्री घिसिङले बताए।



About Us
प्रतिक्रिया