सिटिजन्स बैंकको १० वर्षे अवधिको ऋणपत्र खरीद गर्न आवेदन दिने अवधि थप

सिटिजन्स बैंकको १० वर्षे अवधिको ऋणपत्र खरीद गर्न आवेदन दिने अवधि थप


बैंकिङ्ग समाचार, काठमाडौं ।
सिटिजन्स बैंकले असोज १७ गतेदेखि विक्रीमा ल्याएको ऋणपत्र खरीदका लागि आवेदन दिने अवधि थप भएको छ । बैंकले छिटो अवधि असोज २१ गतेसम्म माग बमोजिम आवेदन नपरेकाले ढिलो अवधि कात्तिक १ गतेसम्म आवेदन दिने अवधि थप गरेको हो ।

बैंकको १० वर्ष अवधिको वार्षिक १० प्रतिशत ब्याजदर भएको ‘१० प्रतिशत सिटिजन्स बैंक डिबेन्चर २०९०’ मा अब कात्तिक १ गतेसम्म आवेदन दिन सकिने छ ।

बैंकले प्रतिऋणपत्र एक हजार अंकित दरका ३ अर्ब रुपैयाँ बराबरको ३० लाख कित्ता ऋणपत्र निष्काशन गरेको हो । सोमध्ये ६० प्रतिशत अर्थात १ अर्ब ८० करोड रुपैयाँ बराबरको १८ लाख कित्ता व्यक्तिगत तवरबाट बाँडफाँड गरिनेछ भने बाँकी ४० प्रतिशत अर्थात १ अर्ब २० करोड रुपैयाँ बराबरको १२ लाख कित्ता सर्वसाधारणमा बाँडफाँड गरिनेछ । सर्वसाधारणमा बाँडफाँड गरिने ऋणपत्रमध्ये ५ प्रतिशत अर्थात ६० हजार कित्ता ऋणपत्र सामूहिक लगानी कोषहरुका लागि छुट्याइएको छ । 

यो ऋणपत्र खरीदका लागि लगानीकर्ताले न्यूनतम २५ कित्तादेखि अधिकतम सम्पूर्ण कित्ताका लागि आवेदन दिन सक्नेछन् । बैंकको ऋणपत्र तथा बिक्री प्रबन्धकमा हिमालयन क्यापिटल लिमिटेड रहेको छ । विक्री प्रबन्धकसँगै लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका सम्पूर्ण शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । साथै मेरो शेयर अनलाइन मार्फत समेत आवेदन दिन सकिनेछ । 

ऋणपत्र निष्कासनका लागि गराएको रेटिङ्गमा इक्रा नेपालले बैंकलाई समयमा वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा मध्यम मात्रामा सुरक्षित रहेको संकेत गर्ने इक्रा एनपी इस्यूअर त्रिपल बी प्लस रेटिङ्ग प्रदान गरेको छ । बैंकले यो ऋणपत्रमा आर्जित ब्याज रकम प्रत्येक आर्थिक वर्षको प्रथम अर्थवार्षिक र दोस्रो अर्धवार्षिक समाप्त भएपश्चात कर कट्टा गरी भुक्तानी गर्ने जानकारी दिएको छ ।