साताको अन्तिम दिन दोहोरो अंकले घट्यो नेप्से, १ अर्ब १० करोडको कारोबार

साताको अन्तिम दिन दोहोरो अंकले घट्यो नेप्से, १ अर्ब १० करोडको कारोबार


बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा साताको कारोबारको अन्तिम दिन आज बिहिवार दोहोरो अंकको गिरावट भएको छ । आज नेप्से ११.०४ अंकले घटेर १ हजार ९ सय ५६ दशमलब ९२ विन्दुमा बन्द भएको हो । बुधवार नेप्से ९.२४ अंकले बढेर १ हजार ९ सय ६७ दशमलब ९७ बिन्दुमा पुगी बन्द भएको थियो ।       

त्यस्तै, आज नेप्सेमा दोहोरो अंकको गिरावट भएसँगै कारोबार रकम पनि सामान्य घटेको छ । आज १ अर्ब १० करोड ६५ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । बुधवार १ अर्ब १८ करोड ९९ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।

नेप्सेका अनुसार आज कारोबार भएका ४८ कम्पनीको शेयरमूल्य बढेको छ भने १७२ कम्पनीको शेयरमूल्य घटेको छ, १२ वटा कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।  

आज नेप्सेमा बराही हाइड्रोपावर कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । यस कम्पनीको शेयरमूल्य आज ९ प्रतिशत भन्दा बढिले वृद्धि भएको छ ।   

आज समता घरेलु इन्फीनिटि लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । यसको शेयरमूल्य आज ९.९४ प्रतिशतले घटेको छ । 

नेप्सेका अनुसार कारोबारको आधारमा आज सबैभन्दा बढी सिटिजन्स लाइफ इन्स्योरेन्स कम्पनीको भएको छ । यस कम्पनीको आज ४ करोड ४३ लाख रुपैयाँ भन्दा बढीको कारोबार भएको छ ।