माथिल्लो मैलुङ खोलाको आईपीओ आजदेखि सर्वसाधारणमा निष्काशन, कहिलेसम्म दिने आवेदन ?

माथिल्लो मैलुङ खोलाको आईपीओ आजदेखि सर्वसाधारणमा निष्काशन, कहिलेसम्म दिने आवेदन ?


बैंकिङ्ग समाचार, काठमाडौं ।
माथिल्लो मैलुङ खोला जलविद्युत लिमिटेडले आज असोज १८ गतेदेखि सर्वसाधारणमा आईपीओ निष्काशन गरेको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरेको आइपीओ बाँडफाँड गरेपछि अब सर्वसाधारणका लागि आइपीओ निष्काशन गर्न लागेको हो ।

कम्पनीले जारी पूँजी १ अर्ब रुपैयाँको १५ प्रतिशतले हुन आउने १५ करोड रुपैयाँ बराबरको १५ लाख कित्ता शेयर सर्वसाधारणमा निष्काशनका लागि छुट्याएको थियो । सोमध्ये १० प्रतिशतले हुन आउने १ करोड ५० लाख रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित दरका १ लाख ५० हजार कित्ता साधारण शेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी विदेशमा रोजगार गरी रहेका नेपालीहरुका लागि निष्काशन गरिसकेको छ । त्यसैगरी, सोमध्ये ७५ हजार कित्ता शेयर सामूहिक लगानी कोषका लागि बाँडफाँट गरिसकेको छ ।

अब दोस्रो चरणमा कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि निष्काशन गरी बाँकी रहेको ९ हजार २०० कित्ता शेयर सहित कुल १२ लाख ८४ हजार २०० कित्ता शेयर सर्वसाधारणमा बिक्री गर्न लागेको हो ।

सो आईपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा १० हजार कित्ताका लागि आवेदन दिन सकिनेछ । निष्काशन बन्द छिटोमा असोज २२ गते हुनेछ भने ढिलोमा कात्तिक २ गते हुनेछ ।

आईपीओ निष्काशनको लागि गराएको रेटिङ्गमा केयर रेटिङ्ग नेपालले कम्पनीलाई केयरएनपी डबल बी इस्यूअर रेटिङ्ग प्रदान गरेको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्दछ ।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेड रहेको छ । लगानीकर्ताहरूले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सि आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरु तथा सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडले निर्माण गरेको सफ्टवेयर मेरो शेयर’ अनलाइन प्रयोग गरी सि-आस्बा प्रणाली मार्फत आवेदन दिन सक्नेछन् ।