सिटिजन लाइफ इन्स्योरेन्सको आइपीओ सहित कुल ३ करोड ७५ लाख कित्ता शेयर नेप्सेमा सूचीकृत

सिटिजन लाइफ इन्स्योरेन्सको आइपीओ सहित कुल ३ करोड ७५ लाख कित्ता शेयर नेप्सेमा सूचीकृत


बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सिटिजन लाइफ इन्स्योरेन्स लिमिटेडको शेयर सूचीकृत भएको छ । असोज १० गते, बुधबार नेप्सेमा कम्पनीको आइपीओ सहित कुल ३ करोड ७५ लाख कित्ता शेयर सूचीकृत भएको हो ।

कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपाली, सामूहिक लगानी कोष, स्थानीय बासिन्दा र कर्मचारीहरुसहित सर्वसाधारणकालागि निष्काशन गरेको १ करोड १२ लाख ५० हजार कित्ता आइपीओ र कम्पनीका संस्थापकहरुले लगानी गरेको २ करोड ६२ लाख ५० हजार कित्ता शेयर नेप्सेमा सूचीकृत भएको हो।

कम्पनीको शेयर सूचीकरण आइतबारदेखि नेप्सेमा कारोबार गर्न सकिने छ । पहिलो कारोबारका लागि कम्पनीलाई नेप्सेले १७२ रुपैयाँ ४३ पैसादेखि ५१७ रूपैयाँ २९ पैसासम्मको ओपनिङ्ग रेञ्ज प्रदान गरेको छ । सोही रेञ्जका आधारमा आइतवार कम्पनीको शेयर कारोबार हुनेछ । कम्पनीलाई नेप्सेले सीएलआई (CLI) स्टक सिम्बोल प्रदान गरेको छ ।

कम्पनीको शेयर रजिष्ट्रार एनआईएमबि एस क्यापिटल लिमिटेड रहेको छ ।