फर्निचर फर्निसिङ्गका उत्पादनको कुम्भ मेला ‘फर्नेक्स २०२३’ सुरु, एकै छानामुनी सबै उत्पादन

फर्निचर फर्निसिङ्गका उत्पादनको कुम्भ मेला ‘फर्नेक्स २०२३’ सुरु, एकै छानामुनी सबै उत्पादन


बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपाल फर्निचर तथा फर्निसिङ संघ नेपालको आयोजनामा ‘नेपाल फर्निचर तथा फर्निसिङ फर्नेक्स २०२३’ को सुरुवात भएको छ । काठमाडौंको भृकुटीमण्डपस्थित प्रदर्शनी स्थलमा एक कार्यक्रमका बीच उक्त मेलाको उद्घाटन भएको हो  । 

फर्निचर तथा फर्निसिङ जन्य उत्पादनको बृहत मेला फर्नेक्स २०२३ सुरु भएको छ । राजधानीको भृकुटीमण्डपस्थित प्रदर्शनीस्थलमा एक कार्यक्रमका बिच उद्योग, वाणिज्य तथा आपूर्ती मन्त्री रमेश रिजालले नवौ संस्करणको एक्स्पोको उद्घाटन गरेका हुन् ।

नेपाल फर्निचर तथा फर्निसिङ संघ (एनएफएफए) को आयोजनामा ‘के हामी आत्मनिर्भर छौ ?’ भन्ने थिममा सुरु भएको एक्स्पो ५ दिनसम्म चल्नेछ । नेपाल चेम्बर अफ कमर्श र नेपाल फर्नचर तथा फर्निसिङ्ग व्यवसायी महासंघले उक्त एक्स्पोको इन्दोर्स गरेको हो । 

१०० भन्दा बढी स्टलहरु रहेको एक्स्पोमा फर्निचर तथा फर्निसिङ्ग सामग्री उत्पादक, आयातकर्ता, वितरक, मेसिनरी तथा प्रविधि हस्तान्तरण, डिलर र व्यवसायीहरुले आफ्‌ना उत्पादन तथा सेवाका बारेमा जानकारी दिनुका साथै बिक्री बितरण गर्नेछन् । एक्स्पो स्थलमा नै सामान खरिद बिक्री गर्नका लागि खुल्ला बजार समेत सञ्चालन गरिएको छ भने अवलोकनकर्तालाई एक्स्पो निःशुल्क प्रवेश गर्ने व्यवस्था गरिएको छ ।

एक्स्पोले राष्ट्रिय तथा अन्तराष्ट्रिय ब्रान्डहरुलाई साझा प्लेटफर्म प्रदान गरी उपभोक्तासम्म पुग्न लागि सहज मार्ग निर्देशन गर्ने एशोसिएशनको विश्वास छ । ग्राहकहरुलाई एउटै प्लेटफर्ममा राष्ट्रिय तथा अन्तराष्ट्रिय कम्पनीद्वारा उत्पादित विभिन्न सामाग्रीहरु उपलब्ध गराउन यो एक्स्पो महत्वपूर्ण हुने अपेक्ष गरिएको छ । 

फर्निचर र फर्निसिङ सामग्रीका उत्पादक, मेसिनरी आपूर्तिकर्ता, आयातकर्ता, वितरक, डिलर, इन्टेरियर डिजाइनर स्टार्टअप तथा फर्निचर उद्योगमा काम गर्न इच्छुक मानिसहरुलाई साझा प्लेटफर्म प्रदान गर्न र अर्थतन्त्रलाई चलायमान बनाउन टेवा पुग्ने अपेक्षा सहित एक्स्पो आयोजना गरिएको हो ।

एक्स्पोमा सहभागि हुने व्यवसायीहरुले आफ्नो ब्रान्ड, उत्पादन तथा सेवाको प्रचारप्रसार गर्ने अवसर पाउने छन् भने सम्भावित ग्राहकसँगको साक्षात्कार र भविष्यमा सहकार्य तथा व्यापार विस्तारका लागि आवश्यक पर्ने राष्ट्रिय तथा अन्तराष्ट्रिय कम्पनीहरुसँग भेटवार्ता गर्ने अवसर पाउने छन् । नेपाली तथा अन्तर्राष्ट्रिय बजारमा मेड इन नेपाल फर्निचरको बजारीकरण गरी व्यापार बढाउन तथा राष्ट्रिय र अन्तर्राष्ट्रिय बजारमा सहकार्य गरी बी टु बी सेवा प्रदान गर्नु एक्स्पोको लक्ष्य रहेको छ । फर्निचर तथा फर्निसिङ्ग क्षेत्रमा नयाँ अवधारणा र डिजाइनहरूको प्रचार तथा प्रबर्द्धनको अवसर पाउने अपेक्षा पनि आयोजकको छ ।

५० हजार भन्दा बढीले अवलोकन गर्ने अपेक्षा गरिएको एक्स्पोमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा ख्याति प्राप्त ब्रान्डहरुको सहभागिता रहेको छ ।