शेयर धितो कर्जाको १२ करोडको सीमा तत्काल हटाउनुपर्छः पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डे

शेयर धितो कर्जाको १२ करोडको सीमा तत्काल हटाउनुपर्छः पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डे


बैंकिङ्ग समाचार, काठमाडौं ।
नेकपा एमालेका उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले शेयर धितो कर्जाको १२ करोडको सीमा तत्काल हटाउनुपर्ने बताएका छन् ।

असोज ९ गते मंगलवार काठमाडौँमा नेपाल उद्योग व्यवसायी महासङ्घले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै पूर्व अर्थमन्त्री पाण्डेले यसअघि पनि शेयर धितो कर्जामा लगाएको सीमा हटाउने माग गरेको तर अहिलेसम्म सरकारले त्यो काम गर्न नसकेको बताएका हुन् ।

उनले कुल कर्जाको १० प्रतिशतसम्म शेयर बजारमा लगानी गर्न पाउनुपर्ने बताए । उनले शेयर बजारमा अहिले जोखिम नभएको भन्दै शेयर कर्जाको जोखिम भार पनि १०० प्रतिशतमा झार्न आवश्यक रहेको बताएका हुन् ।

उनले सरकारका सबै निकायहरूले आउट अफ द बक्स सोच्नुपर्ने पनि बताए । उनले अरु देशको नियम हेरेर नेपालमा लागू हुन नसक्ने बताए । उनले भारतमा बैंक कर्जा वृद्धि भए अनुसार रोजगारी वृद्धि भएको तर नेपालमा हरेक वर्ष भारतको भन्दा कर्जा बिस्तार भए पनि रोजगारी सिर्जना हुन नसकेको जनाएका थिए । उनले बैंकहरुको कर्जा लगानी कहाँ गयो भन्दै प्रश्न समेत गरेका थिए । उनले मुलुकको अर्थतन्त्र सुधार गर्न अर्थतन्त्रका इन्डिकेटर हेरेर मात्रै समाधान हुन नसक्ने बताए ।

पूर्व अर्थमन्त्री पाण्डेले प्रधानमन्त्री र अर्थमन्त्रीले अर्थतन्त्र सुधार नहुनुको दोष गभर्नरमाथि थोपरेर पन्छिन नमिल्ने पनि बताएका थिए । उनले सरकारले वर्तमान अर्थतन्त्र र व्यवसायीहरूका समस्या समाधान गर्नेतर्फ भन्दा पनि जिम्मेवारबाट पन्छिने काम गरिरहेको बताए ।