अपि पावरको हकप्रद शेयर बाँडफाँड, अवितरित करिब १२ लाख कित्ता लिलामीमा आउने

अपि पावरको हकप्रद शेयर बाँडफाँड, अवितरित करिब १२ लाख कित्ता लिलामीमा आउने


बैंकिङ्ग समाचार, काठमाडौं ।
अपि पावर कम्पनीको हकप्रद शेयर बाँडफाँड भएको छ । कम्पनीले साउन ३१ गतेदेखि भदौ १९ गतेसम्म १० बराबर ४ अनुपातमा निष्काशन गरेको हकप्रद शेयर असोज ८ गते बाँडफाँड सम्पन्न भएको हो ।

कम्पनीले १ अर्ब ६५ करोड ३३ लाख १३ हजार ७०० रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका १ करोड ६५ लाख ३३ हजार १३७ कित्ता शेयर निष्काशन गरेको थियो । सोमध्ये निष्काशन अवधिभर रीतपूर्वक आवेदन दिने १ लाख १० हजार ५६१ शेयरधनीहरुलाई १ करोड ५३ लाख ३७ हजार २०३ कित्ता शेयर बाँडफाँड गरिएको हो ।

बाँडफाँडमा नपरेको शेयर बापतको रकम असोज १२ गते शुक्रबारदेखि आईपीएसमार्फत शेयरधनीहरको खातामा रकमान्तर गरिने व्यवस्था मिलाइएको छ ।

सो अवधिमा आवेदनमा नपरेको शेयर भने कम्पनीले लिलाम बिक्री गर्ने भएको छ । कम्पनीले सर्वसाधारण समूहतर्फको ११ लाख ९४ हजार ९३४ कित्ता अवितरित हकप्रद शेयर लिलाम बिक्री गर्नेछ । सो शेयर खरिदका लागि लगानीकर्ताले असोज १७ गतेदेखि २४ गतेसम्म शिलबन्दी बोलपत्र पेश गर्न सक्नेछन् । शेयरको न्यूनतम मूल्य १०० रुपैयाँ तोकिएको छ । लगानीकर्ताले सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्नुपर्नेछ । लगानीकर्ताले न्यूनतम १०० कित्ताका लागि आवेदन दिनु पर्नेछ भने अधिकतमका लागि कुनै हक लाग्ने छैन ।

कम्पनीको शेयर बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ । लगानीकर्ताले बिक्री प्रबन्धकका साथै मुक्तिनाथ विकास बैंकका ठिमी–भक्तपुर, कुमारीपाटी–ललितपुर, बिर्तामोड, विराटनगर, वीरगंज, जनकपुर, हेटौँडा, नारायणगढ, चिप्लेढुङ्ग–पोखरा, बाग्लुङ्ग, बुटवल, घोराही–दाङ, नेपालगंज, सुर्खेत, धनगढी र महेन्द्रनगर शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् ।