सामाजिक सुरक्षा कोषमा विदेशमा रहेका नेपालीले आइएमई मार्फत रकम जम्मा गर्ने सेवा सुरु

सामाजिक सुरक्षा कोषमा विदेशमा रहेका नेपालीले आइएमई मार्फत रकम जम्मा गर्ने सेवा सुरु


बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपालको नेतृत्वदायी रेमिटेन्स सेवा प्रदायक कम्पनी आइएमईले विदेशमा रहनुभएका नेपालीहरूले आफ्नो सामाजिक सुरक्षा कोष (SSF) मा योगदान बापतको रकम जम्मा गर्न मिल्ने सेवा सुरु गरेको छ । विदेशमा रहेका नेपालीहरूले अब विदेशस्थित आइएमई रेमिटेन्स पार्टनर मार्फत सजिलै यो सुविधा लिन सक्नेछन् । यो सेवा सुरु गर्दै सामाजिक सुरक्षा कोष (SSF) लाई रेमिट्यान्स प्लेटफर्ममा एकीकृत गर्न आइएमई पहिलो रेमिट्यान्स कम्पनी बनेको छ ।

आइएमई लिमिटेडका प्रमुख कार्यकारी अधिकृत खिलेन्द्र पौडेलले आइएमईले यो सुविधा मार्फत विदेशमा रहेका नेपालीको भरोसालाई कायम राख्न थप सेवा प्रदान गरिएको बताएका छन् । कोषले अघि बढाएको वैदेशिक रोजगारमा रहेका श्रमिक र विदेशमा स्वरोजगारमा रहेका व्यक्तिहरुको सामाजिक सुरक्षा योजनाको प्रवर्द्धनका लागि समेत आइएमईको सेवाले सहयोग पुग्ने प्रमुख कार्यकारी अधिकृत पौडेलले उल्लेख गरेका छन् ।

यसअघि सामाजिक सुरक्षा कोषले वैदेशिक रोजगारमा रहेका श्रमिक र विदेशमा स्वरोजगारमा रहेका नागरिकले सामाजिक सुरक्षा योजना अन्तर्गत कम्तीमा नेपाल सरकारबाट तोकिएको न्यूनतम आधारभूत पारिश्रमिकको २१ दशमलव ३३ प्रतिशत रकम अर्थात् हाल न्यूनतम रु. २ हजार २ मासिक रूपमा र अधिकतम न्यूनतम आधारभूत पारिश्रमिकको तीन गुणा सम्म कोषमा योगदान गरी सुविधामा सहभागी हुनसक्ने व्यवस्था मिलाएको थियो ।