सन नेपाल लाइफको आईपीओ नेप्सेमा सूचीकृत, कति पायो ओपनिङ रेन्ज ?

सन नेपाल लाइफको आईपीओ नेप्सेमा सूचीकृत, कति पायो ओपनिङ रेन्ज ?


बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा आज असोज २ गते, मंगलबार सन नेपाल लाइफ इन्स्योरेन्सको आईपीओ सूचीकृत भएको छ । यस दिन नेप्सेमा इन्स्योरेन्सको आईपीओ सहित कुल ३ करोड २० लाख कित्ता शेयर नेप्सेमा सूचीकृत भएको हो ।

इन्स्योरेन्सले वैदेशिक रोजगारीमा रहेका नेपाली, सामूहिक लगानी कोष, कर्मचारी सहित सर्वसाधारणका लागि बिक्री गरेको ९६ लाख कित्ता र संस्थापक शेयरधनीहरुले लगानी गरेको २ करोड २४ लाख कित्ता शेयर नेप्सेमा सूचीकृत भएको हो ।

कुनै पनि कम्पनीको आईपीओ नेप्सेमा सूचीकृत भएको दोस्रो दिनदेखि कारोबारमा आउने गर्दछ । भोलि सविधान दिवसको अवसरमा सार्वजनिक बिदा भएको कारणले असोज ४ (बिहीबार) देखि दोस्रो बजारमा कम्पनीको शेयर कारोबारमा आउने भएको छ ।

पहिलो कारोबारका लागि इन्स्योरेन्सलाई नेप्सेले १५८ रुपैयाँ ४१ पैसादेखि ४७५ रुपैयाँ २३ पैसासम्मको ओपनिङ्ग रेञ्ज प्रदान गरेको छ । यसै रेञ्जका आधारमा इन्स्योरेन्सको पहिलो कारोबार हुनेछ । नेप्सेले इन्स्योरेन्सलाई एसएनएलआई (SNLI) स्टक सिम्बोल प्रदान गरेको छ । इन्स्योरेन्सको आरटिएस सेवा नेपाल एसबिआई मर्चेन्ट बैंकिङ्ग लिमिटेडबाट हुनेछ ।