नेप्सेमा आज सामान्य अंकको सुधार, कारोबार रकम भने ८७ करोडमा सिमित

नेप्सेमा आज सामान्य अंकको सुधार, कारोबार रकम भने ८७ करोडमा सिमित


बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा आज साताको कारोबारको दोस्रो दिन सामान्य अंकको सुधार भएको छ । आज सोमवार नेप्से ४.२६ अंकले बढेर १ हजार ९ सय ६९ दशमलव १८ बिन्दुमा पुगेको छ । आइतवार नेप्से ४२.१४ अंकले घटेर १ हजार ९ सय ६४ दशमलव ९१ विन्दुमा बन्द भएको थियो ।

त्यस्तै, आज नेप्सेमा सामान्य वृद्धि भएपनि कारोबार रकम भने उल्लेख्यरुपमा घटेर १ अर्ब भन्दा तल पुगेको छ । आज ८७ करोड ४ लाख रुपैयाँ बराबरको मात्र कारोबार भएको छ । आइतवार २ अर्ब २ करोड ८४ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।

नेप्सेका अनुसार आज कारोबार भएका १४९ कम्पनीको शेयरमूल्य बढेको छ भने ६२ कम्पनीकोे शेयरमूल्य घटेको छ, १५ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ । 

आज नेप्सेमा दुई कम्पनीहरुको शेयरमूल्यमा सर्वाधिक वृद्धि भएको छ । इमर्जिङ्ग नेपाल लिमिटेड र थ्रि स्टार हाइड्रोपावर कम्पनीको शेयरमूल्य आज सर्किट लेभलमा बढेको छ ।

आज शुभम् पावर लिमिटेडका लगानीकर्ताहरूले सबैभन्दा धेरै गुमाएका छन‍ । सो कम्पनीको शेयरमूल्य ९.९९ प्रतिशतले गिरावट भएको छ । 

नेप्सेका अनुसार कारोबारको आधारमा आज रिलायवल नेपाल लाइफ इन्स्योरेन्सको शेयर सबैभन्दा बढी कारोबार भएको छ । यस कम्पनीको ९ करोड ३८ लाख रुपैयाँ बराबरको कारोबार भएको हो ।