साताको पहिलो दिन नेप्सेमा ४२ अंकको गिरावट, कारोबार रकम २ अर्ब नाघ्यो

साताको पहिलो दिन नेप्सेमा ४२ अंकको गिरावट, कारोबार रकम २ अर्ब नाघ्यो


बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा आज साताको कारोबारको पहिलो दिन उच्च अंकको गिरावट भएको छ । आज आइतवार नेप्से ४२.१४ अंकले घटेर १ हजार ९ सय ६४ दशमलव ९१ बिन्दुमा पुगेको छ । अघिल्लो कारोबार दिन अर्थात बुधवार नेप्से ३९.४८ अंकले बढेर २ हजार ७ दशमलव ०६ विन्दुमा बन्द भएको थियो ।

त्यस्तै, आज नेप्सेमा उच्च अंकको गिरावट भएपनि कारोबार रकममा भने उल्लेख्य वृद्धि भएको छ । आज २ अर्ब २ करोड ८४ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । बुधवार १ अर्ब ५९ करोड ५५ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।

नेप्सेका अनुसार आज कारोबार भएका ११ कम्पनीको शेयरमूल्य बढेको छ भने २१३ कम्पनीकोे शेयरमूल्य घटेको छ, ३ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ । 

आज शुभम् पावर लिमिटेडको शेयरमूल्यमा सर्वाधिक वृद्धि भएको छ । यस कम्पनीको शेयरमूल्य आज १० प्रतिशतले बढेर प्रतिकित्ता ९८५ दशमलव ६० रुपैयाँ पुगेको छ ।

आज मैलुङ्ग हाइड्रोपावर कम्पनीका लगानीकर्ताहरूले सबैभन्दा धेरै गुमाएका छन‍ । सो कम्पनीको शेयरमूल्यमा ९ प्रतिशत भन्दा बढिको गिरावट भएको छ । 

नेप्सेका अनुसार कारोबारको आधारमा आज एनआइसी एशिया बैंकको शेयर सबैभन्दा बढी कारोबार भएको छ ।  सो कम्पनीको २७ करोड ५४ लाख रुपैयाँ बराबरको कारोबार भएको हो ।