सिटिजन्स बैंक र भारतको अपोलो हस्पिटल्सबीच बैंकका ग्राहकलाई विशेष छुट दिने सम्झौता

सिटिजन्स बैंक र भारतको अपोलो हस्पिटल्सबीच बैंकका ग्राहकलाई विशेष छुट दिने सम्झौता


बैंकिङ्ग समाचार, काठमाडौं ।
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र भारतस्थित अपोलो हस्पिटल्स इन्टरप्राईजेज लिमिटेडबीच सिटिजन्स बैंकका कार्डवाहक ग्राहकहरुलाई अस्पतालको सेवा शुल्कमा १०% सम्म छुट दिने सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

बुधबार बैंक र भारतस्थित उक्त अस्पताबीच बैंकका ग्राहकलाई अस्पतालको सेवा शुल्कमा सो मात्राको छुट दिने सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको हो ।

अपोलो हस्पिटलस् इन्टरप्राईजेजका भारतको विभिन्न ९ स्थानमा रहेका हस्पिटलका नेटवर्कहरुमा यो छुटको व्यवस्था लागू हुने छ । उक्त समझदारीपत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत गणेश राज पोखरेल तथा अपोलो हस्पिटल्स इन्टरप्राईजेजका तर्फबाट भाइस प्रेसिडेन्ट–इन्टरनेसनल बिजनेस डा. कार्त्तिक अनन्थरामनले हस्ताक्षर गरेका हुन् ।

सिटिजन्स बैंकको भारतस्थित हस्पिटल्सहरुसंगको यो दोश्रो सम्झौता हो । यसअघि बैंकले भारतस्थित मेदान्त-द मेडिसिटी अस्पतालसंग बैंकका कार्डवाहक ग्राहकलाई अस्पतालको सेवा शुल्कमा १५ प्रतिशतसम्म छुट दिने सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गरिसकेको छ ।

यस्ता सहकार्यबाट हाल यस बैंकका ग्राहकले उक्त अस्पतालमा उपचार गराउन जाने क्रममा सरल र सुलभ तरिकाले लाभ लिइसकेका छन् । आगामी दिनहरुमा पनि यस सहकार्यको निरन्तरताले भारतमा स्वास्थ्य उपचार गराउन जाने बैंकका ग्राहकलाई उपचारका क्रममा थप सहज सेवा प्राप्त हुने विश्वास बैंकले लिएको छ । यो सुविधा सिटिजन्स बैंकका कार्डबाहक ग्राहकले पाउनेछन् ।

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना १८८ वटा शाखा, १४८ वटा एटिएम र ९७ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।