हाथवे इन्भेष्टमेण्टको ५० रुपैयाँमा खरीद गर्न पाइने आईपीओमा आवेदन दिने आज अन्तिम दिन

हाथवे इन्भेष्टमेण्टको ५० रुपैयाँमा खरीद गर्न पाइने आईपीओमा आवेदन दिने आज अन्तिम दिन


बैंकिङ्ग समाचार, काठमाडौं ।
हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेडले भदौ २१ गतेदेखि प्रतिकित्ता अंकित मूल्य ५० रुपैयाँका दरले खरिद गर्न पाइने गरि सर्वसाधारणका लागि निष्काशन गरेको आइपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ ।

कम्पनीले आफ्नो जारी पूँजी १ अर्ब १७ करोड रुपैयाँको १२ दशमलव ५० प्रतिशत दरले हुन आउने १४ करोड ६२ लाख ५० हजार रुपैयाँ बराबरको २९ लाख २५ हजार कित्ता आईपीओ विक्री गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो । कुल कित्ता आईपीओमध्ये वैदेशिक रोजगारीमा रहेका नेपालीहरूमा २ लाख ९२ हजार ५०० कित्ता, कर्मचारीहरूमा ५८ हजार ५०० कित्ता र सामूहिक लगानीकोषहरूमा १ लाख ४६ हजार २५० कित्ता आईपीओ बाँडफाँड गरिसकिएको छ । यी वाहेक बाँकी २४ लाख २७ हजार ७५० कित्ता आईपीओ भने आम सर्वसाधारणमा सार्वजनिक निष्काशनमा ल्याएको हो ।

सर्वसाधारणले यो आईपीओ खरीदका लागि न्यूनतम २० कित्तादेखि  अधिकतम १ लाख कित्तासम्म आवेदन दिन सक्नेछन् ।

आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा ग्लोबल आईएमई क्यापिटल लिमिटेड रहेको छ । विक्री प्रबन्धकसँगै नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयमार्फत आवेदन दिन सक्नेछन् । साथै मेरो शेयरमार्फत समेत आवेदन दिन सक्नेछन् ।

आईपीओ निष्काशनका लागि गराएको रेटिङ्गमा इक्रा नेपालले मध्यम स्तरको क्रेडिट जोखिम रहेको संकेत गर्ने इक्रा एनपी इस्यूअर त्रिपल बी माइनस रेटिङ्ग प्रदान गरेको छ ।