माण्डु हाइड्रोपावरको आइपीओ बाँडफाँड, १ लाख २० हजार ५३२ जनालाई १० कित्ता शेयर

माण्डु हाइड्रोपावरको आइपीओ बाँडफाँड, १ लाख २० हजार ५३२ जनालाई १० कित्ता शेयर


बैंकिङ्ग समाचार, काठमाडौं ।
माण्डु हाइड्रोपावर लिमिटेडले भदौ १० गतेदेखि १३ गतेसम्म सर्वसाधारणको लागि निष्काशन गरेको आइपीओ आज भदौ २४ गते आइतवार बाँडफाँड गरेको छ । उक्त आइपीओ आज बिक्री प्रबन्धक प्रभु क्यापिटलले बाँडफाँड गरेको हो । 

बिक्री प्रबन्धक प्रभु क्यापिटलका अनुसार आइपीओमा कुल १० लाख १६ हजार ७ सय १४ जनाको आवेदन प्राप्त भएको थियो । जसमध्ये १ लाख ४३ हजार ८ सय ७७ जना आवेदक शेयर पाउन अयोग्य भएका छन् । क्यापिटलका अनुसार १ लाख ४१ हजार २ सय ९६ जनाको आवेदन रद्द भएको थियो । त्यस्तै, दोहोरो आवेदन परेको ५७८ जनाको आवेदन रद्द गरिएको हो । स्थानीयको शेयर पाएका ४९ जनाले पनि आवेदन दिएकोले उनीहरुको पनि आवेदन रद्द भएको छ । वैदेशिक रोजगारीको आरक्षणको शेयर पाएका १९ सय २३ जनाले पनि आवेदन दिएकोले उनीहरुको पनि आवेदन रद्द भएको छ । कर्मचारीको आरक्षणको शेयर पाएका ८ जनाले पनि आवेदन दिएकोले उनीहरुको पनि आवेदन रद्द भएको छ । कम्पनीका २३ जना प्रमोटरले पनि आइपीओमा आवेदन दिएकोले उनीहरुको पनि आवेदन रद्द गरिएको क्यापिटलले जनाएको छ । यस अनुसार ८ लाख ७२ हजार ८ सय ३७ जना आवेदक आइपीओ पाउन योग्य भएका छन् ।

क्यापिटलका अनुसार मागभन्दा बढीको आवेदन परेकोले योग्य आवेदकलाई गोलाप्रथामा सहभागी गराएर शेयर बाँडफाँड गरिएको छ । जस मार्फत १ लाख २० हजार ५ सय ३२ जना आवेदकले १० कित्ताका दरले शेयर पाएका छन् । बाँकि आवेदकको भने हात खाली भएको छ ।

कम्पनीले सर्वसाधारणको लागि १२ लाख ५ हजार ३२० कित्ता शेयर प्रिमियम मूल्यमा निष्काशन गरेको थियो । कम्पनीले अंकित मूल्यमा १०६ रुपैयाँ थप गरी प्रतिकित्ता २०६ मा आर्ईपीओ निष्कासन गरेको हो ।