बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपाल राष्ट्र बैंकले १० अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र २०८६ ‘झ’ जारी गर्ने भएको छ । बैंकले भदौ २५ गते सोमवार जारी गर्ने ६ वर्षे अवधिको विकास ऋणपत्र जारी गर्ने भएको हो । बैंकले उक्त ऋणपत्र भदौ २४ गते आइतबार बोलकबोलमार्फत बिक्री गरिने जनाएको छ ।
यस ऋणपत्र खरिद गर्न इच्छुक बैंक तथा वित्तीय संस्था, गैरबैंक वित्तीय संस्था, बीमा कम्पनी, संगठित संस्था तथा नेपाली नागरिकले बोलपत्र पेस गर्न सक्नेछन् ।
यस ऋणपत्रको ब्याजदर पनि बोलकबोल मार्फत तय हुने राष्ट्र बैंकले जनाएको छ । यस विकास ऋणपत्रको ब्याज भुक्तानी अर्धवार्षिक हुने र आर्जित ब्याजमा ब्याजकर लाग्ने छ । ऋणपत्र २०८६ भदौ २५ गते परिपक्व हुनेछ । यस ऋणपत्र धितो राखी कर्जा लिन तथा दिन पाइनेछ ।
बोलकबोलमा इच्छुक खरिदकर्ता प्रतिस्पर्धी वा अप्रतिस्पर्धीका रुपमा सहभागी हुन पाउनेछन् । प्रतिस्पर्धी र अप्रतिस्पर्धी बोलकबोलकर्ता हरुलाई क्रमशः निष्काशित रकमको ८५ प्रतिशत र १५ प्रतिशत अर्थात ८ अर्ब ५० करोड र १ अर्ब ५० करोड छुट्याइएको छ ।
प्रतिक्रिया