बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपालको सबैभन्दा ठूलो भुक्तानी संचालक फोनपे र भारतको नेशनल पेमेन्ट्स कर्पोरेशन अफ इन्डिया (NPCI) को अन्तर्राष्ट्रिय शाखा ‘एन.आई.पी.यल’ (NIPL: NPCI International Payments Limited) द्वारा नेपाल र भारतबीच पहिलो क्रस बोर्डर क्यूआर (QR) भुक्तानी सेवा सुरु गर्ने तयारी भएको छ ।
यो ऐतिहासिक साझेदारीको सुरुवात अहिले भारतको मुम्बईमा जारी ‘ग्लोबल फिन्टेक फेस्ट २०२३’ मा भएको हो जहाँ हरेक वर्ष फिन्टेक दूरदर्शीहरू र नवप्रवर्तकहरूको विश्वव्यापी भेटघाट हुने गर्छ ।
फोनपे र एनआईपीयल बीचको यस सहकार्यले दुबै राष्ट्रका लाखौं नागरिकहरूलाई यी दुई नेटवर्कमा आबद्ध मोबाईल एप प्रयोग गरी विभिन्न स्टोरहरूमा क्युआर कोड मार्फत सुरक्षित र सहज रूपमा भुक्तानी गर्न मदत गर्नेछ ।
उक्त सेवाको लागि दुबै कम्पनीले सञ्चालन तयारी पूरा गरिसकेका छन् र प्राविधिक एकीकरण अन्तिम प्रक्रियामा रहेको जनाइएको छ । प्राविधिक एकीकरणको समाप्ति पश्चात यी दुई कम्पनीहरू आफ्नो नेटवर्कमा आबद्ध सदस्यहरुलाई सेवा प्रदान गर्न सक्षम हुने छन् । जसको अनुरुप लाखौँ उपभोक्ता र व्यापारीहरूले यस सेवाको लाभ लिन सक्नेछन् ।
दुई कम्पनीबीचको यस रणनैतिक साझेदारीले दुबै देशमा डिजिटल भुक्तानी परिवेशमा उल्लेख्य बढावा दिने र अन्तर्राष्ट्रिय बजारमा फराकिलो पहुँचका लागि एउटा प्रमुख पाइलाको रुपमा साबित हुने विश्वास लिइएको छ ।
फोनपेका सभापति तथा एफवान सफ्ट ग्रुपका अध्यक्ष विश्वास ढकालका अनुसार, “यो उल्लेखनीय प्रक्षेपण दुबै देशका नागरिकहरूको हितका लागि प्रविधिको प्रयोग गरी नेपाल र भारतबीचको वित्तीय सम्पर्क अभिवृद्धि गर्ने दिशामा महत्वपूर्ण कदम हो । म विश्वस्त छु कि यस पहलले दुई देश बीचको व्यापार, पर्यटन र आर्थिक सम्बन्धको विकासमा महत्वपूर्ण योगदान पुर्याउनेछ र अन्ततः समृद्धि र विकासलाई बढावा दिनेछ ।”
सोही अवसरमा बोल्दै, एनपीसीआई इन्टरनेशनल पेमेन्ट्स लिमिटेडका प्रतिनीधिले “यस पहलले नवप्रवर्तन प्रति रहेको हाम्रो प्रतिबद्धतालाई जनाउँछ । युपिआई (UPI) एप्सले सहज क्रस बोर्डर भुक्तानीहरूलाई सक्षम पार्नेछ र मानिसहरूको कारोबार गर्ने तरिकालाई बृद्धि गर्नेछ । फोनपेसँगको यस साझेदारी लाई हामीले वित्तीय समावेशीकरण र आर्थिक समृद्धिको उत्प्रेरक मानेका छौँ र फोनपे सँगसँगै रुपान्तरणको यो यात्रा सुरु गर्न पाउँदा हामी धेरै उत्साहित छौँ” भनी जनाएका छन् ।
प्रतिक्रिया