पुर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेको सुझावः नक्सा पास गर्दा अनिवार्य बीमा गर्नुपर्ने नीति ल्याऔँ 

पुर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेको सुझावः नक्सा पास गर्दा अनिवार्य बीमा गर्नुपर्ने नीति ल्याऔँ 


बैंकिङ्ग समाचार,काठमाडौं ।

पुर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले नक्सा पास गर्दा अनिवार्य बीमा ल्याउने हो भने मुलुकभर बीमाको पहुँच पुग्ने बताएका छन । बृहत आर्थिक संवाद नेशनल इन्योरेन्स डिस्कोर्स २०२३ मा बोल्दै पाण्डेले स्थानीय तहमा बीमा छैन भनेर भनिन्छ तर यो उसको काम हो कि संघ सरकारको भन्दै प्रश्न समेत गरेका छन् ।

\"\"

उनले भने ‘स्थानीय तहमा बीमा छैन तर यो उसको काम हो कि होइन ? समस्या आउँदा सबैभन्दा पहिला ठोकिने निकाय कुन हो ? जनता स्थानीय तहमा जान्छन् यस्तो अवस्थामा स्थानीय तहले मेरो काम होइन भन्दै चुप लागेर बस्न मिल्छ ? तपाईहरुले नक्सा पास गर्नुहुन्छ त्यसमा अनिवार्य बीमा गर्दिनुस त त्यसपछि कति मान्छेको समस्या हल हुन्छ ।’ कार्यक्रममा बोल्दै उनले गरिबीको रेखामुनी भएकाहरुको नगरपालिकाको बजेटबाट बीमा गर्दिनुपर्ने व्यवस्था ल्याउनुपर्ने सुझाव पनि पेस गरे । उनले भने, ‘गरिबीको रेखामुनी भएकाहरुको नगरपालिकाको बजेटबाट बीमा गर्दिनुस् बाँकीले आफैँ गर्छन र त्यसको क्षतिपूर्ती पनि आफैँ लिन्छन । यो सम्भव छ  र यसलाई म गाह्रो देख्दिन ।’ उनले आफु सरकारमा हुँदा दैनिक रूपमा बाटोमा दुर्घटना हुने र त्यसको क्षतिपूर्ती सरकारले तिर्न तयार रहनुपर्ने अवस्था रहँदा  आफुले नै थर्ड पार्टी इन्स्योरेन्स बजेटबाट ल्याएको समेत बताएका छन् ।

उनले भनेका छन, ‘म सरकारमा हुँदा नै थर्डपार्टी इन्स्योरेन्स बजेटबाट ल्याइएको हो । व्यक्तिले दुर्घटनामा गल्ती गर्ने, ड्राइभ गरेर मान्छे मार्ने अनी सरकारले क्षतिपूर्ति दिनुपर्ने, जसले गल्ती गर्छ उसले तिर्नुपर्छ भन्ने हिसाबले त्यो पोलिसी ल्याए । कतिले कमेन्ट गर्थे यो कार्यान्वयन हुँदैन भनेर तर सफल र राम्रो कार्यान्वयन भयो ।’ उनले थपे ‘म सरकारमा हुँदा दैनिक रूपमा बाटोमा दुर्घटना हुन्थ्यो र हरेक क्याबिनेट बैठकमा कतिजना मान्छेको मृत्युको १० लाखका दरले पैसा क्षतिपूर्ति दिने भन्ने प्रस्ताव आइरह्न्थ्यो । म त्यसका लागी तयार भएर जानुपथ्र्याे । ’  

पुर्वअर्थमन्त्री पाण्डेले स्वास्थ बीमा पनि आँफैले पाँच जिल्लाबाट सुरु गरेको र अहिले ७७ बटै जिल्लामा स्वास्थ्य बीमा विस्तार भएको बताए । उनले आफ्नो सोच अनुसारका कुराहरु त्यसमा कार्यान्वयन नभएको बताउँदै उनले भने, ‘स्वास्थ बीमा पनि मैले पाँच जिल्लावाट सुरु गरेँ अहिले ७७ बटै जिल्लामै छ । पहुँच छैन त्यसको लागि केहि गर्न नसकिने, जसको पहुँच छ, जसले आफैं पनि ब्यहोर्न सक्छन, उसलाई त्यो चाहिँ दिनुपर्ने स्थिति छ । यसकारण मैले  पाँच जिल्लाबाट स्वास्थ बीमा सुरु गरे ।’ त्यसले पनि एउटा बजार सिर्जना गरेको छ । यद्यपि मैले सोच अनुसारका कुराहरु त्यसमा कार्यान्वयन भैइराखेका छैनन ।’ 
पाण्डेले थर्डपार्टी इन्स्योरेन्समा त्यसपछिको सरकार वा निकायले यसलाई परिस्थिति सँगै अपडेट गर्नुपर्ने बताएका छन ।

\"\"

कतिपय अवस्थामा त्यसको ब्यवहारिक रुपले दुरुपयोग भएको पनि उनको बुझाई छ । ‘थर्डपार्टी इन्स्योरेन्सको क्षतिपूर्ती दिने रकम त्यसबेला भन्दा अहिले बढ्नुपर्ने हो तर अहिले पनि त्यही ठाउँमा रोकिएको छ । थर्डपार्टी इन्स्योरेन्सको क्षतिपुर्तीको बिषयमा त्यसपछिको सरकार वा निकायले यसलाई परिस्थितिसँगै अपग्रेड गर्नुपर्ने हो । कतिपय अवस्थामा त्यसको ब्यवहारीक रुपले दुरुपयोग भएको पनि सबै कुरालाई बुझेर यसको नियन्त्रण गर्ने र नयाँ हिसाबले अपडेट गर्ने काम  त्यसपछिको सरकारले गर्ने हो ।’ उनले भनेका छन् । 

उनले यस्तो क्षतिपुर्ती रकम समयसँगै नबढ्दा आफुलाई जनताले गलत ठान्छन की भन्ने चिन्ता रहेको बताए । उनले भने, ‘अबको १५ वर्षमा हालको रकमको महत्व थोरै होला र यस्तो सानो क्षतिपूर्ति दिएर के गरेको होला भनेर मलाई गाली गर्छन कि भन्ने चिन्ता छ । स्वास्थ बीमाको सम्बन्धमा पनि त्यो खालको स्थिति देखिन्छ ।’