आर्थिक गतिविधि अगाडि बढाउनका लागि  समस्या छ: अर्थमन्त्री

आर्थिक गतिविधि अगाडि बढाउनका लागि  समस्या छ: अर्थमन्त्री


बैंकिङ्ग समाचार, काठमाडौं 

अर्थमन्त्री डा. प्रकाशशरण महतले आर्थिक गतिविधि अगाडि बढाउनका लागि समस्या भएको बताएका छन् ।  त्यस्तै आफूले अनुमान गरेअनुसार राजस्व पनि नबढेको बताएका छन्। नेपाल आर्थिक पत्रकार समाज (सेजन) को २५ औं वार्षिक साधारणसभाको उद्घाटन गर्दै मन्त्री डा.महतले गत आर्थिक वर्षको तुलनामा बढे पनि अनुमान भेट्न नसकिएको बताएका हुन्। यद्यपि चालु आर्थिक वर्षको अन्त्यमा लक्ष्य भेट्ने विश्वास उनले गरे।

मन्त्री महतले राज्य संयन्त्रले गर्ने कतिपय निर्णयले पनि अर्थतन्त्र प्रभावित भइरहेको भन्दै निजी क्षेत्रको समस्यालाई माइक्रो म्यानेजमेन्ट गर्नेतर्फ लाग्यो भने पनि समस्या आउने दाबी गरे।

सो क्रममा उनले पत्रकारितामा नयाँ प्रविधिले सजिलो बनाए पनि त्यसको सदुपयोग र दुरुपयोगको चुनौती थपिएको बताए। राजनीतिक क्षेत्रजस्तै पत्रकारिता जगत पनि परीक्षणको दौडबाट गुज्रिरहेको उनको भनाइ छ।

डा.महतले भने, ‘म अर्थमन्त्रालयमा पुगेकोपछि इमान्दारिताका साथ कसरी देश र जनताका लागि काम गर्ने भन्ने मानसिकताबाट मैले काम गर्ने प्रयास गरेको छु। यसलाई साथीहरुले आत्मसाथ गर्नुभएको छ, कतिपय अवस्थामा प्रश्न पनि गर्नुभएको छ।’

उनले संसदभित्र र बाहिर मैले आफ्ना निर्णय आधारसहित प्रतिरक्षा गरेको र त्यसलाई सबैले स्वीकार गरेको बताए। देशको अर्थतन्त्रलाई लयमा ल्याउने प्रयास आफूले गरिरहेको भन्दै मन्त्री डा.महतले भने, ‘पर्यटन क्षेत्रमा सुधार भइरहेको छ, विदेशी मुद्राको सञ्चिती पर्याप्त छ। आर्थिक गतिविधि अगाडि बढाउनका लागि जे समस्या छ, त्यसलाई सम्बोधन गर्न सरकार लागिरहेको छ। आगामी दिनमा देशको अर्थतन्त्र सकारात्मक दिशामा जानेछ।’