चेकको दुरुपयोग बढ्यो, खाली चेकमा हस्ताक्षर गरीदिने गलत कार्य रोकौं : राष्ट्र बैंक

चेकको दुरुपयोग बढ्यो, खाली चेकमा हस्ताक्षर गरीदिने गलत कार्य रोकौं : राष्ट्र बैंक


बैंकिङ्ग समाचार, काठमाडौं ।

खाली चेकमा हस्ताक्षर गरीदिने गलत कार्यले चेकको दुरुपयोग बढेको राष्ट्र बैंकले बताएको छ। होसियार भई चेक जारी गर्न बैंकले आग्रह गरेको छ । बैंकले वित्तीय चेतनाका लागि एक सूचना जारी गर्दे यस्तो आग्रह गरेको हो। ‘होसियार भई चेक जारी गर्ने गरौँ’,सूचनामा भनिएको छ,

बैंक तथा वित्तीय संस्थामा रहेको रकमको कारोबारको लागि चेक भरपर्दो उपकरण हो । विनिमेय अधिकारपत्र ऐन, २०३४ (पछिल्लो संशोधन २०७५) तथा नेपाल राष्ट्र बैंक ऐन, २०५८ (पछिल्लो संशोधन २०७४) ले यसलाई माग्नासाथ भुक्तानी दिनु भनी कुनै बैंकउपर खिचिएको विनिमेयपत्रको रूपमा व्याख्या गरेको छ । पछिल्लो समय चेकको दुरूपयोग अत्यधिक बढेको र त्यसको कारणले चेक जारी गर्ने व्यक्ति रसंस्था कालोसूचीमा पर्ने घटना बढेर गएको पाइएको छ । चेकमार्फत भुक्तानी गर्दा आफ्नो दायित्व प्रष्ट भएपछि खातामा मौज्दात रहेको रकमको मात्र चेक जारी गर्नु पर्दछ । खातामा नभएको रकमको चेक जारी गर्ने, भविष्यमा प्राप्त हुन्छ भन्ने आधारमा चेक जारी गर्ने, तमसुक वा धरौटीको रूपमा चेकलाई प्रयोग गरी अवैधानिक लेनदेन गर्ने, खाली चेकमा हस्ताक्षर गरीदिने जस्ता नियतवश गरेको गलत कार्यले चेक जारी गर्ने व्यक्ति कालोसूचीमा पर्दछ र कानुनबमोजिमको सजायसमेत हुन्छ । होसियार भई चेक जारी गर्ने गरौं, गैरकानुनी लेनदेन नगरौं ।

\"\"