‘नाडा अटो शो २०२३’ भदौ २६ गतेदेखि सुरु हुँदै, ६ दिनको शोमा २० अर्ब कमाउने लक्ष्य  

‘नाडा अटो शो २०२३’ भदौ २६ गतेदेखि सुरु हुँदै, ६ दिनको शोमा २० अर्ब कमाउने लक्ष्य  


बैंकिङ्ग समाचार, काठमाडौं ।

झण्डै चार वर्षको अन्तरालपछि नाडा अटो मोबाइल्स एसोसिएसन अफ नेपालले यो वर्ष ‘नाडा अटो शो, २०२३’ आयोजना गर्ने भएको छ । नाडाले आइतवार काठमाडौँमा पत्रकार सम्मेलनको आयोजना गर्दै अटोशोको सम्पूर्ण तयारी पूरा भएको जनाएको हो । 

नाडाले यही भदौ २६ गतेदेखि ३१ गतेसम्म भृकुटीमण्डपमा १५ औँ अटोशो आयोजना गर्दैछ । नाडाले अटो शोको टिकट बुकिङ खुला गरेको छ । पचहत्तर हजार मानिसले अवलोकलन गर्ने अनुमान गरिएको शोमा विद्यार्थीका लागि  एक सय ५० तथा अन्य व्यक्तिका लागि दुई सय पैयाँको टिकट छुट्टाइएको छ । खल्तीबाट अटोशोको टिकट काट्नेका लागि २० प्रतिशत क्यासब्याकको सुविधा दिइएको नाडाले जनाएको छ । करिब  २० अर्ब रुपैयाँ बराबरको कारोबार हुने शोमा ७५ हजार जनाले अवलोकलन गर्ने अनुमान गरिएको नाडाले जनाएको छ । 

नाडा अध्यक्ष डा.ध्रुव थापा थापाले अटोशोमा साना तथा ठूला गरी एक सय २० स्टल तथा ब्लक रहने जानकारी दिए । उनका अनुसार शोमा प्रख्यात अन्तर्राष्ट्रिय ब्राण्डका सवारी साधन, लुब्रिकेन्ट, टायर, पार्ट–पुर्जा, राष्ट्रिय ब्राण्डका अटो सामग्री उत्पादक कम्पनीको सहभागिता रहेको छ । टाटा मोटर्स जेनुइन आयलद्वारा प्रायोजित नाडा अटो शो २०२३ ले बजारलाई चलायमान बनाउन मद्दत पुग्ने आयोजकको ठम्याई रहेको छ । नाडाले नेपाली महान चाड/पर्वहरुको पूवार्द्धमा आयोजना हुन गइरहेको यस प्रदर्शनीले अटो व्यवसायी, ग्राहकवर्ग, अटोमोबाइलसंग प्रत्यक्ष/अप्रत्यक्ष रुपमा संलग्न सबैलाई उत्साहपूर्वक सहभागी गराउने दाबी गरेको छ ।

नाडा अटोशोले सवारी साधनलाई विलासिता मात्र नभई, आम सर्वसाधारणको जिविकोपार्जनका लागि चाहिने अत्यावश्यक साधनको रुपमा चित्रण गर्न सहयोग पुग्ने नाडाले जनाएको छ । प्रदर्शनीमा ठूला तथा साना गरि करिव १२० वटा स्टल र ब्लकहरु रहने छन् । उक्त प्रर्दशनीमा प्रख्यात अन्तराष्ट्रिय ब्राण्डका सवारी साधन, लुब्रिकेन्ट, टायर, पार्ट/पुर्जाका साथै राष्ट्रिय ब्राण्डका अटो सामग्री उत्पादक र वस्तु तथा सेवा प्रदायकहरुको सहभागिता समेत रहने छ ।

 प्रदर्शनीमा १६ वटा ब्राण्डका चार पाङग्रे, २२ वटा ब्राण्डका दुई पाङग्रे, ७ वटा ब्राण्डका लाइट कमर्शियल भेहिकल, ९ वटा वित्तीय संस्था तथा ३० वटा लुब्रिकेन्ट, टायर, ब्याट्रि, पार्टपुर्जा एवं ग्यारेज उपकरण कम्पनीहरुको सहभागिता रहेको आयोजकले जनाएको छ । प्रदर्शनीलाई वढी जानकारीमूलक, सेवामूलक र ग्राहकमुखी बनाउन अटो सम्वन्धि सेवा सुविधा दिने जस्तै वित्तीय सेवा, बिक्री पछिका सेवा, आदिका छुट्टाछुट्टै स्टलहरु रहने छन् भने अटो सम्बन्धी जानकारी दिने म्यागेजीन तथा पत्रपत्रिकाहरुका लागि पनि एउटा छुट्टै साझा मिडिया स्टलको व्यवस्था गरिएको छ ।
 
उक्त विशाल प्रदर्शनीमा अवलोकनकर्ताहरुको सुविधालाई विषेश ध्यानमा राखी २ पाङग्रे, ४ पाङग्रे, वित्तीय संस्था,अटो कम्पोनेन्ट्स् एवं ग्यारेज उपकरणहरुको छुट्टाछुट्टै प्रदर्शन गरिएको छ । प्रदर्शनी स्थलमा सजिलै आवागमन गर्नका लागि काठमाडौं  मल, सैनिक कल्याणकारी भवन, बस पार्क भिउ टावरलगायतका सार्वजनिक पार्किङ्ग स्थलहरूबाट महानगर यातायातको सहयोगमा शटल बस सञ्चालन गरिने बताइएको छ।
 
एक्स्पोलाई व्यवस्थित बनाउन, प्रदर्शनी स्थलमा भिड भाड कम गर्न भ्रमणलाई सहज बनाउन आजकै मितिदेखि खल्ती एप मार्फत अनलाईन टिकट खरिद गर्न सकिने व्यवस्था मिलाइएको नाडाले जनाएको छ । आज अर्थात ११ गतेदेखि भदौ २५ गतेसम्मको अग्रिम अनलाइन टिकट खरिदमा खल्तीद्वारा २० प्रतिशत क्यास ब्याकको अफर समेत रहेको छ । ६ दिनसम्म चल्ने उक्त नाडा अटो शो २०२३ मा लगभग ७५००० जनाले अवलोकन गर्ने र २० अर्बको कारोबार हुने पनि नाडाको अनुमान छ ।