बरुण हाइड्रोपावरलाई शतप्रतिशत हकप्रद शेयर निष्काशन गर्न विद्युत नियमन आयोगको स्वीकृती

बरुण हाइड्रोपावरलाई शतप्रतिशत हकप्रद शेयर निष्काशन गर्न विद्युत नियमन आयोगको स्वीकृती


बैंकिङ्ग समाचार, काठमाडौं ।
बरुण हाइड्रोपावर लिमिटेडले शतप्रतिशत हकप्रद शेयर निष्कासनका लागि विद्युत नियमन आयोगबाट स्वीकृति पाएको छ । कम्पनीलाई हाल कायम चुक्तापूँजी ५३ करोड ५८ लाख १५ हजारको आधारमा सोही रकम बराबरको हकप्रद शेयर निष्कासनका लागि आयोगले भदौ १० गते स्वीकृति प्रदान गरेको हो । 

आयोगको स्वीकृति पाएसँगै अब कम्पनीले नियामक निकाय नेपाल धितोपत्र बोर्डमा आवेदन पेश गर्नेछ । जलविद्युत कम्पनीहरूले सार्वजनिक निष्कासनका लागि बोर्डमा आवेदन दिनुपूर्व विद्युत नियमन आयोगको पूर्व स्वीकृति लिनुपर्ने हुन्छ । सोही व्यवस्था बमोजिम बरुणले आयोगबाट स्वीकृति लिने प्रक्रिया पुरा गरेको हो । अब बोर्डले स्वीकृति दिएमा कम्पनीका शेयरधनीहरूले शतप्रतिशत हकप्रद शेयर खरीद गर्न पाउनेछन् ।

गत असार १२ गते बसेको कम्पनीको सञ्चालक समिति बैठकले शत प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने निर्णय गरेको थियो । उक्त निर्णय कम्पनीको साउन १४ गते सम्पन्न विशेष साधारण सभाले समेत पारित गरिसकेको छ । शत प्रतिशत हकप्रद शेयर निष्कासन तथा बाँडफाँट पश्चात कम्पनीको पूँजी रू. १ अर्ब ७ करोड १६ लाख ३० हजार पुग्नेछ ।