विदेशमा सिकेको सीप, प्रविधि, अनुभव र पूँजीलाई नेपालको विकासमा लगाउन अर्थमन्त्री महतको आग्रह

विदेशमा सिकेको सीप, प्रविधि, अनुभव र पूँजीलाई नेपालको विकासमा लगाउन अर्थमन्त्री महतको आग्रह


बैंकिङ्ग समाचार, काठमाडौं ।
अर्थमन्त्री डा. प्रकाश शरण महतले क्यानाडाको भ्यानकुभरस्थित नेपाली समुदायलाई विदेशमा सिकेको सीप, प्रविधि, अनुभव र पूँजीलाई नेपालको विकासमा लगाउन आग्रह गरेका छन् । क्यानाडाको भ्यानकुभरमा रहेका नेपाली समुदायसँग छलफल तथा अन्तर्क्रिया गर्नेक्रममा अर्थमन्त्री महतले यस्तो आग्रह गरेका हुन् ।

अहिले नेपालमा लगानीमैत्री वातावरण निर्माण हुँदै गएको तथा उर्जा, पर्यटन, सूचना प्रविधि एवं कृषि उद्यम लगायतका क्षेत्रहरू लगानीको लागि आकर्षक रहेको मन्त्री महतले बताए ।

यसैगरी नेपालमा विशेषज्ञ जनशक्तिको अभाव पुरा गर्न नेपाली डायसपोरालाई मद्दत गर्न मन्त्री महतले आग्रह गरेका छन् । यसैक्रममा उनले नेपाली समुदायले उच्च शिक्षाका लागि क्यानाडा आउने विद्यार्थीहरू पर्याप्त सूचना विना आउने गरेको र विभिन्न समस्यामा परेको जानकारी गराएका थिए । 

अर्थमन्त्री डा. महत ग्लोबल इनभ्यारोमेन्ट फ्यासिलिटी (जीईएफ) को ७औँ विश्व सम्मेलनमा भाग लिन २० अगष्ट २०२३ मा क्यानाडा गएका थिए । अर्थमन्त्रीको आज साँझ स्वदेश फर्किने कार्यक्रम रहेको छ ।