बैंकिङ्ग समाचार, काठमाडौं ।
सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले विद्युतिय माध्यमवाट बीमालेख जारी गर्न तथा दाबी फर्छयौट गर्न एसपीआईएल–डिजी (SPIL- DIGI) प्रणाली प्रचलनमा ल्याएको छ । सरल र सहज बीमा सेवा प्रदान गर्ने मुख्य उद्धेश्यका साथ नेपाली बीमा जगतमा पहिलो पटक प्रचलनमा ल्याएको SPIL-DIGI को प्रयोगले बीमितहरुले सहज रुपमा अनलाइनवाटै बीमालेख खरिद गर्न सक्नेछन् भने निश्चित रकम सम्मको बीमा दावी फर्छयौट गरी भुक्तानी समेत प्राप्त गर्न सक्नेछन् ।
यस माध्यमबाट ५० हजार सम्मको दावी भुक्तानी एकै दिनमा हुने व्यवस्था गरेको कम्पनीले जनाएको छ ।
नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवाल र सिद्धार्थ प्रिमियर इन्स्योरेन्सका अध्यक्ष सुरेशलाल श्रेष्ठले संयुक्त रुपमा एसपीआईएल–डिजी प्रणालीको शुभारम्भ गरेका हुन् ।
प्राधिकरणका अध्यक्ष सिलवालले कम्पनीको प्रयासलाई सराहना गर्दै प्रभावकारी रुपमा सञ्चालन गर्न शुभकामना दिए । कम्पनीका अध्यक्ष श्रेष्ठले कम्पनीले विद्युतिय माध्यमवाट प्रभावकारी बीमा सेवा प्रदान गर्न क्रियासिल रहेको बताए ।
प्रमुख कार्यकारी अधिकृत बीरेन्द्र बैदवार क्षेत्रीले क्रमिक रुपमा बीमा सेवालाई प्रविधियुक्त बनाउने लक्ष्य रहेको बताए । यो पहिलो प्रयास भएको र यसलाई अझ प्रभावकारी बनाउनेतर्फ थप क्रियासिल रहेको उनको भनाइ छ ।
एसपीआईएल-डिजी डिजिटल प्रणाली भएको हुँदा अनलाईन भुक्तानी मार्फत् कम्पनीमा बीमा शुल्क भुक्तानी गरी भौतिक रुपमा उपस्थिति बिना बीमालेख खरिद गर्न सकिनेछ । बीमितले निश्चित रकम सम्मको बीमा दावी फर्छ्यौट गरी भुक्तानी लिन र बीमा दावीको अवस्थाको वारेमा जानकारी समेत लिन सक्नेछन् । यसबाट समय र लागत घट्न जाने र झन्झट रहित तरिकाबाट बीमा सेवा लिन एवम् प्रदान गर्न सहयोग पुग्ने विश्वास कम्पनीको छ ।
प्रतिक्रिया