किन लिलाम गर्दे छ नेपाल बैंकले धितो राखिएको सुनचाँदी  ?

किन लिलाम गर्दे छ नेपाल बैंकले धितो राखिएको सुनचाँदी  ?


बैंकिङ्ग समाचार,काठमाडौं ।

नेपाल बैंक लिमिटेडले धितो राखिएको सुनचाँदी लिलाम गर्ने भएको छ । बैंकमा ऋणीहरूले धितो राखेको सुनचाँदी उकास्न नआएपछि बैंक लिलामी प्रक्रियामा जाने भएको हो । बुधबार बैंकले सार्वजनिक सूचना जारी गर्दै सुनचाँदी धितो राखेर ऋण लिएका ऋणीहरूलाई पटक–पटक सम्पर्क गर्दा पनि सम्पर्कमा नरहेकोले लिलामी प्रक्रियामा जाने बैंकले बताएको छ ।

बैंकका विभिन्न शाखाहरूबाट सुनचाँदी धितो राखी कर्जा लिएका ऋणीहरूले भुक्तानीको म्याद सकिए पनि कर्जा चुक्ता गर्न नआएको बैंकले जनाएको छ। ऋणीहरूलाई पटक–पटक सम्पर्क गर्दा पनि सम्पर्कमा नआएपछि सूचना निकाले  बैंककोले जनाएको छ। बैंकले सूचना सार्वजनिक गरेको दिनदेखि १५ दिनभित्रसम्म सम्बन्धित शाखामा सम्पर्क गरेर कर्जा चुक्ता गरी धितो सामान लिएर जान ऋणीहरूलाई सूचित गरेको छ । १५ दिने सूचना प्रकाशित भएको भोलि पल्टबाट नै बैंक तथा वित्तीय संस्थासम्बन्धि ऐन, २०७३ का अनुसार सम्बन्धित शाखामा धितो माल–सामानहरू जे, जस्तो अवस्थामा छ, सोही लिलाम गरिने बैंकले जनाएको छ ।

नेपाल बैंकका अनुसार सुनचाँदी धितो राखेर ऋण नतिर्नेको संख्या ८ रहेको छ । पहिलो नम्बरमा काठमाडौंको टोखा बस्ने देवेन्द्र घिमिरे रहेका छन् । त्यसैगरी, बाग्लुङ बस्ने शेरबहादुर थापा, बागलुङका हाल काठमाडौं निवासी जेनिशा थापा, काठमाडौंका चन्द्रमान श्रेष्ठ, तनहुँ घर भई हाल काठमाडौं बस्ने भीमा गुरुङ, सर्लाहीका अच्युतम रिजाल, र काठमाडौंका ईश्वर सिंह थापा रहेका छन् ।

बैंकले धितो लिलाम बिक्री गर्ने भएकाले सम्बन्धित इच्छुक सबैलाई आफूले सकारेको मूल्य बोलकबोल गर्न पनि बैंकले अनुरोध गरेको छ । डाक बढाबढमा सबैभन्दा बढी मूल्य कबुल गर्नेले कबोल अंकको १० प्रतिशत रकम धरौटीस्वरूप तुरुन्त जम्मा गर्नुपर्नेछ । साथै, कबोल भएको रकममा लिलामी बिक्री गर्ने निर्णय गरेमा तुरुन्त बाँकी ९० प्रतिशत रकम जम्मा गर्नुपर्नेछ । अन्यथा धरौटी जफत हुने पनि बैंकले जनाएको छ । बैंकका अनुसार बालाजु औद्योगिक शाखा, बुर्तिबाङ शाखा, कान्तिपथ शाखा र डिल्लीबजार शाखामा रहेको ८ जनाको सुन धितो लिलामी गर्न लागेको हो ।