भगवती हाइड्रोपावरको आईपीओ प्रिमियममा सर्वसाधारणका लागि आजदेखि आवेदन खुला

भगवती हाइड्रोपावरको आईपीओ प्रिमियममा सर्वसाधारणका लागि आजदेखि आवेदन खुला


बैंकिङ्ग समाचार, काठमाडौं ।
भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले आज भदौ ५ गतेदेखि प्रिमियम मूल्यमा सर्वसाधारण लगानीकर्ताका लागी आईपीओ निष्काशन गरेका छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरेको आईपीओ बाँडफाँड गरेपश्चात अब सर्वसाधारणका लागि प्रिमियममा आईपीओ निष्काशन गर्न लागेको हो ।

कम्पनीले आयोजना प्रभावित स्थानीयमा असार २४ गतेदेखि साउन १४ गतेसम्म र वैदेशिक रोजगारीमा रहेका नेपालीमा असार २४ गतेदेखि साउन ७ गतेसम्म आईपीओ विक्री गरेको थियो । प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यमा प्रिमियमबापत १६ रुपैयाँ थप गरी प्रतिकित्ता ११६ रुपैयाँमा कम्पनीले आईपीओ विक्री गरेको हो ।

आयोजना प्रभावित स्थानीयमा जारी पूँजी ५७ करोड २० लाख ६४ हजार ७०० रुपैयाँको १० प्रतिशत अर्थात् ५ करोड ७२ लाख ६ हजार ५०० रुपैयाँ बराबरको ५ लाख ७२ हजार ६५ कित्ता आईपीओ बाँडफाँट गरिएको हो ।

वैदेशिक रोजगारीमा रहेका नेपालीमा भने सर्वसाधारण लगानीकर्ताहरूका लागि छुट्याएको शेयरको १० प्रतिशतले हुन आउने ८५ लाख ८१ हजार १०० रुपैयाँ बराबरको ८५ हजार ८१० कित्ता शेयर बाँडफाँट गरिएको हो ।

कम्पनीले जारी पूँजी ५७ करोड २० लाख ६४ हजार ७०० रुपैयाँको २५ प्रतिशत दरको १४ लाख ३० हजार १६२ कित्ता आईपीओ प्रिमियम सहितको मूल्यमा विक्री गर्न नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट असार ६ गते अनुमति पाएको थियो ।

आयोजना प्रभावित स्थानीय, वैदेशिक रोजगारीमा रहेका नेपालीमा आईपीओ बाँडफाँटपछि बाँकी रहेको आईपीओमध्ये ४२ हजार ९०५ कित्ता सामूहिक लगानी कोषका लागि बाँडफाँट गरिसकेको कम्पनीको भनाइ छ । यीबाहेक पनि १७ हजार १६२ कित्ता आईपीओ कम्पनीका कर्मचारीहरूको लागि सुरक्षित गरी ७ लाख १२ हजार २२० कित्ता आईपीओ भने सार्वजनिक निष्कासनमा आउन लागेको हो ।

सर्वसाधारण लगानीकर्ताले यो आईपीओ खरीदका लागि न्यूनतम १० कित्तादेखि अधिकतम ५ हजार कित्तासम्म माग गर्न सक्नेछन् । आईपीओ विक्री अवधि छिटोमा भदौ ८ गतेसम्मका लागि तोकिएको छ । सो अवधिसम्म मागबमोजिम आवेदन नपरेमा भने ढिलोमा भदौ १९ गतेसम्म विक्री अवधि तोकिएको छ ।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सि आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरु तथा सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडले निर्माण गरेको सफ्टवेयर ‘मेरो शेयर’ अनलाइन प्रयोग गरी सि आस्बा प्रणाली मार्फत आवेदन दिन सक्नेछन् ।

आईपीओ निष्काशनको लागि गराएको रेटिङ्गमा केयर रेटिङ्ग नेपालले कम्पनीलाई केयर एनपि त्रीपल बी माइनस रेटिङ्ग प्रदान गरेको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ ।