कर नबुझाउने १९ करदाताको बैंक खाता र सम्पत्ति रोक्का

कर नबुझाउने १९ करदाताको बैंक खाता र सम्पत्ति रोक्का

Bhawana Awasthi

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैकिङ्ग समाचार,काठमाडौं । 

आन्तरिक राजस्व कार्यालय वीरगन्ज पर्साले लामो समयदेखि कर नबुझाउने १९ जना करदाताको बैंक खाता तथा सम्पत्ति रोक्का गरी बक्यौता उठाउने तयारी गरेको छ ।

दर्ता भएर पनि लामो समयदेखि कर नबुझाउने पर्सा वीरगन्जस्थित खुसी जनरल स्टोर, सिद्धि विनायक ट्रेडर्स, माँ शक्ति ट्रेडर्स, दिनानाथ ट्रेडर्स, जगदीश एन्ड ब्रदर बडिमेकर, देवेन्द्र तेल उद्योग, डेल्टा सेक्युरिटी सर्भिस प्रालि, रिधान सप्लायर्स, टाइगर जब्स सेक्युरिटी सर्भिस प्रालि, गणपति ट्रेड इन्टरनेसनल र सम्राट ढुवानी सेवाको कारबाही स्वरुप बैंक खाता र सम्पत्ति रोक्का गरिएको प्रमुख कर अधिकृत ढाकाराम तिवारीले जानकारी दिएका छन् ।

यस्तै पर्साको वीरगन्जकै पटेल किराना स्टोर्स, बुदर टेक्सटाइल इन्डट्रिज, कन्ट्रक्ट एक्सप्रेस कुरियर सर्भिस, कम्प्युट्रोनिक्स कलर ल्याब प्रालि, सुशील किराना स्टोर्स÷ज्योति मनि चेन्जर्स, गहवामाई ट्रान्सपोर्ट प्रालि र सुरज मेसिनरीको पनि बैंक खाता र सम्पति रोक्का गरिएको प्रमुख कर अधिकृत तिवारीले बताएका छन्  । 

प्रमुख तिवारीका अनुसार कर नबुझाएका करदातामाथि कारबाही गरी आव २०७९–८० मा १४ करोड ३९ लाख रुपैयाँ बक्यौता संकलन गरिएको छ । 

नियमित बजार अनुगमन थालेपछि आव २०७९–८० मा करदातासमेत बढेको आन्तरिक राजस्व कार्यालय वीरगञ्जले जनाएको छ । आव २०७९–८० मा पर्सामा व्यावसायिकतर्फको करदाता २ हजार ७ सय ५० र व्यक्तिगत १० हजार २ सय २५ नयाँ करदाता थपिएको प्रमुख कर अधिकृत तिवारीले बताएका छन् ।     

योसँगै पर्सामा व्यावसायिक ४७ हजार ८ सय ८० र व्यक्तिगत ६६ हजार ५ सय ५५ गरी १ लाख १५ हजार ४३५ करदाता संख्या पुगेको बताइएको छ । यसैबीच, आन्तरिक राजस्व कार्यालय वीरगञ्ज पर्साले आर्थिक वर्ष २०७९–८० मा ७ अर्ब १४ करोड रुपैयाँ राजस्व संकलन गरेको छ । सो अवधिमा अन्तशूल्कतर्फ ३ अर्ब, आयकरतर्फ ३ अर्ब, मूल्य अभिवृद्धिकरतर्फ १ अर्ब ७४ करोड रहेको छ । यस्तै, ब्याजकरतर्फ  ४ करोड र घरबहाल करतर्फ ५ करोड राजस्व संकलन भएको छ । यस कार्यालयले गत आर्थिक वर्ष २०७८–७९ मा ८ अर्ब ७१ करोड ६९ लाख ६० हजार राजस्व संकलन गरेको थियो ।