तस्करबाट जफत गरिएको ६० किलो सुन ‘९९९.९९ टच’ शुद्ध रहेको पुष्टि 

तस्करबाट जफत गरिएको ६० किलो सुन ‘९९९.९९ टच’ शुद्ध रहेको पुष्टि 


बैंकिङ्ग समाचार, काठमाडौं ।

गत साउन ३ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका भन्सार कार्यालय बाहिरबाट जफत गरिएको सुनको गुणस्तर सबैभन्दा उत्कृष्ट ठहरिएको छ । नेपाल राष्ट्र बैंक टक्सार महाशाखाले गुणस्तर परीक्षण गर्दा उक्त सुन ‘९९९.९९ टच’ शुद्ध रहेको पुष्टि भएको हो । 

 जसअनुसार ‘९९९.९९ टच’भनेको सबैभन्दा उच्च गुणस्तरको (शुद्ध) सुन हो । नेपालमा यति शुद्ध गुणस्तरको सुन धेरै कम रहेको राष्ट्र बैंक स्रोतले बताएको छ । सामान्यतया बजारमा २२ क्यारेट र २४ क्यारेट भनेर सुनको गुणस्तर वर्गीकरण गर्ने गरिन्छ ।

अवैध रुपमा नेपाल भित्रिएको सुन नेपाल राष्ट्र बैंकले खरिद गर्ने भएको छ । बरामद गरिएको सुन राष्ट बैंकको टक्सार महाशाखाले गालेर जोख्दा ६० किलो ७१६ ग्राम भएको थियो ।  नेपाल राष्ट्र बैंकको टक्सार महाशाखामा सरोकारवाला निकाय र सुरक्षा निकायका प्रतिनिधिको रोहबरमा 'ब्रेक सु' बाट छुट्टाएको सुन गालिएको थियो । सोमबार 'ब्रेक सु'बाट सुन छुट्याउने काम भएको थियो । 'ब्रेक सु' बाट छुट्याएको सुनको तौल ६० किलो ७८९ ग्राम थियो भने पगाल्दा सुन ७३ ग्राम घटेर ६० किलो ७१६ ग्राम भएको हो । 

सुन प्रकरणको अनुसन्धान सुरूमा राजस्व अनुसन्धान विभागले गरेपनि पछि प्रधानमन्त्री पुष्पकमल दाहालको निर्देशनमा अनुसन्धानको जिम्मा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) लाई दिइएको थियो ।

राजश्व छलेर आएको सुन बरामद पछि त्यो स्वत: सरकारको सम्पत्ति हुन्छ । सुन बराबरको मूल्य सरकारी खातामा जम्मा गरिदिएपछि नेपाल राष्ट्र बैंकले राख्दछ । यसरी सरकारसँग सुन खरिद गर्दा राष्ट्र बैंकले अन्तर्राष्ट्रिय बजार मूल्यभन्दा पाँच प्रतिशत बढी रकम दिने छ ।