सिनर्जी पावरको ५०% हकप्रद शेयरमा आजदेखि आवेदन खुला

सिनर्जी पावरको ५०% हकप्रद शेयरमा आजदेखि आवेदन खुला


बैंकिङ्ग समाचार, काठमाडौं ।
सिनर्जी पावर डेभलपमेन्ट लिमिटेडले आज भदौ ३ गते आइतवारदेखि आफ्ना शेयरधनीहरूका लागि हकप्रद शेयर निष्काशन गरेको छ । कम्पनीले हाल कायम चुक्तापूँजी ८० करोड ६५ लाख ७५ हजार रुपैयाँको २ः१ अनुपात अर्थात् ५० प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने भएको हो । 

जसअनुसार कम्पनीले ४० करोड ३२ लाख ८७ हजार ५०० रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका ४० लाख ३२ हजार ८७५ कित्ता हकप्रद शेयर निष्काशन गर्दैछ । हकप्रद शेयर निष्काशन प्रयोजनार्थ कम्पनीले साउन १२ गते बुकक्लोज गरेको थियो । यस अनुसार साउन ११ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले सो हकप्रद शेयरका लागि आवेदन दिन सक्नेछन् । कम्पनीको हकप्रद शेयरमा भदौ २४ गतेसम्म आवेदन दिन सकिनेछ ।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेड रहेको छ । लगानीकर्ताले सानिमा क्यापिटल तथा सानिमा बैंकका तोकिएका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् । यसका साथै नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरुबाट सि आस्वा प्रणालीमार्फत र सिडिएस एण्ड क्लियरिङ्गबाट निर्माण गरिएको सफ्टवेयर मेरो शेयर अनलाइन प्रयोग गरी आवेदन दिन सकिनेछ ।

हकप्रद निष्काशनका लागि गराएको रेटिङ्गमा ईक्रा नेपालले कम्पनीलाई समयमै वित्तीय दायित्व वहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्ने ईक्रा एनपी इस्यूअर डबल बी प्लस रेटिङ्ग प्रदान गरेको छ । हकप्रद निष्काशन तथा बाँडफाँटपश्चात कम्पनीको चुक्ता पूँजी १ अर्ब २० करोड ९८ लाख ६२ हजार ५०० रुपैयाँ पुग्नेछ ।