माथिल्लो मैलुङ खोला जलविद्युतको आईपीओ स्थानीयले खरिद गर्ने म्याद पुनः थप

माथिल्लो मैलुङ खोला जलविद्युतको आईपीओ स्थानीयले खरिद गर्ने म्याद पुनः थप


बैंकिङ्ग समाचार, काठमाडौं ।
माथिल्लो मैलुङ खोला जलविद्युत लिमिटेडले साउन ४ गतेदेखि विक्रीमा ल्याएको आईपीओ खरीदका लागि आयोजना प्रभावित स्थानीयमा पुनः म्याद थप भएको छ । स्थानीयमा छिटो अवधि साउन १८ गतेभित्र माग बमोजिम आवेदन नपरेपछि भदौ १ गतेसम्मको विक्री अवधि तय गरेको कम्पनीले पुनः म्याद थप गर्दै भदौ १७ गतेसम्मको अवधि तय गरेको हो ।

कम्पनीले जारी पूँजी १ अर्ब रूपैयाँको १० प्रतिशत शेयर आयोजना प्रभावित स्थानीयमा विक्री खुला गरेको हो । प्रतिशेयर १०० अंकित मूल्यमा कम्पनीले १० करोड रूपैयाँ बराबरको १० लाख कित्ता आईपीओ स्थानीयमा विक्री खुला गरेको हो । स्थानीयमा विक्री गरिने कुल कित्ता शेयरमध्ये ५ लाख ७१ हजार ४३० कित्ता शेयर आयोजना अति प्रभावित क्षेत्र रसुवा जिल्लाको उत्तरगया गाउँपालिका वडा नं. ९ का बासिन्दाहरूलाई बाँडफाँट गरिनेछ ।

त्यस्तै, २ लाख ८५ हजार ७२० कित्ता शेयर आयोजना प्रभावित क्षेत्र रसुवा जिल्लाको उत्तरगया गाउँपालिका वडा नं. २, ३, ४ र ५, तथा नुवाकोट जिल्लाको किस्पाङ गाउँपालिका वडा नं. ५ मा बसोबास गर्ने स्थिानिय बासिन्दारूका लागि र सो क्षेत्र बाहेकका रसुवा जिल्लाका अन्य क्षेत्रका स्थानिय बासिन्दाहरूका लागि १ लाख ४२ हजार ८५० कित्ता शेयर बाँडफाँट गरिनेछ ।

आयोजना प्रभावित स्थानीयले यो आईपीओ खरीदका लागि न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्म माग गर्न सक्नेछन् । कम्पनीको आईपीओ निष्कासन तथा विक्री प्रबन्धकमा सानिमा क्यापिटल लिमिटेड रहेको छ । विक्री प्रबन्धकसँगै आयोजना प्रभावित स्थानीयले आयोजनाको कार्यालय , सानिमा बैंकको बिदुर र किस्पाङ शाखा नुवाकोट, टिमुरे शाखा रसुवाबाट आवेदन दिन सक्नेछन् । साथै एनएमबि बैंकको धुन्चे रसुवा शाखा, ग्लोबल आइएमई बैंकको नौकुण्ड रसुवा शाखा, लुम्बिनी विकास बैंकको कालिकास्थान, रसुवा शाखा, कुमारी बैंकको आमाछोदिङमो, रसुवा शाखा, हिमालयन बैंकको बेत्रावती, रसुवा शाखा, नेपाल इन्भेष्टमेन्ट बैंकको स्याफ्रुबेशी, रसुवा शाखा र आइसिएफसी फाइनान्सको कालिकास्थान, रसुवा शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् ।