बैंकिङ्ग समाचार, काठमाडौं ।
जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्ष २०७९/८० को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । उक्त विवरण अनुसार लघुवित्तको खुद नाफा अघिल्लो आर्थिक वर्ष २०७८/७९ को सोही अवधिको तुलनामा उल्लेख्यरुपमा घटेको छ ।
गत आर्थिक वर्षको अन्त्यसम्ममा लघुवित्तले ४० करोड ५२ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ५०.०९ प्रतिशत कम हो । अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तले ८१ करोड १९ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।
वितरणयोग्य नाफा भने यस अवधिसम्म २६ करोड ३२ लाख रूपैयाँभन्दा बढी रहेको छ । गत वर्ष कम्पनीको इम्पेयरमेन्ट चार्ज बढेकाले खुद नाफा घट्न पुगेको हो ।
अघिल्लो वर्ष ९ करोड रूपैयाँभन्दा बढी रहेको इम्पेयरमेन्ट चार्ज गत वर्ष भने ३७ करोड ३४ लाख रूपैयाँभन्दा बढी भएको हो । कम्पनीको सञ्चालन नाफा समेत अघिल्लो वर्षको भन्दा ५० प्रतिशत कम ५७ करोड ८९ लाख रूपैयाँभन्दा बढी मात्र भएको छ ।
नाफासँगै लघुवित्तको प्रतिशेयर आम्दानी पनि उल्लेख्य घटेको छ । समीक्षा अवधिमा लघुवित्तको प्रतिशेयर आम्दानी ३४ रुपैयाँ ४० पैसा घटेर ३४ रुपैयाँ २८ पैसामा झरेको छ । असार मसान्तसम्ममा लघुवित्तको प्रतिशेयर नेटवर्थ २६३ रुपैयाँ ७ पैसा रहेको छ । त्यसैगरी, लघुवित्तको मूल्य आम्दानी अनुपात ४६.६८ गुणा रहेको छ ।
हाल कम्पनीको चुक्तापूँजी १ अर्ब १८ करोड २० लाख ३४ हजार रूपैयाँ छ । रिटेन्ड अर्निग ८८ करोड ४४ लाख रूपैयाँभन्दा बढी रहेको कम्पनीको जगेडा कोष रकम १ अर्ब ४ करोड रूपैयाँभन्दा बढी छ । कम्पनीले गत चौथो त्रैमाससम्म १० अर्ब ३ करोड रूपैयाँभन्दा बढी निक्षेप संकलन गरेको छ भने ८ अर्ब ८५ करोड रूपैयाँभन्दा बढी कर्जा सापटी लिएको छ । उक्त अवधिसम्म कम्पनीले २२ अर्ब ७९ करोड रूपैयाँभन्दा बढी कर्जा प्रवाह गरेको छ ।



About Us
प्रतिक्रिया