बैंकिङ्ग समाचार, काठमाडौं ।
सन नेपाल लाइफ इन्स्योरेन्सले सर्वसाधारणका लागि आज साउन ३२ गते बिहिवारदेखि आइपीओ निष्काशन गरेको छ । कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई निष्काशन गरेको आइपीओ बाँडफाँड सम्पन्न गरी अब सर्वसाधारण लगानीकर्ताका लागि आजदेखि आइपीओ निष्काशन गर्न लागेको हो ।
कम्पनीले जारी पूँजी ३ अर्ब २० करोड रुपैयाँको ३० प्रतिशतले हुन आउने ९६ करोड रुपैयाँ बराबरको ९६ लाख कित्ता सर्वसाधारणमा विक्री गर्न कम्पनीले नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो । सर्वसाधारणतर्फको कुल कित्ता आईपीओमध्ये १० प्रतिशत दरको ९ लाख ६० हजार कित्ता आईपीओ वैदेशिक रोजगारीमा रहेका नेपालीमा र ५ प्रतिशत दरको ४ लाख ८० हजार कित्ता सामूहिक लगानीकोषहरूमा बाँडफाँड गरिसकेको छ । प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्यमा १३९ रुपैयाँ थप गरी कुल २३९ रुपैयाँमा कम्पनीले आईपीओ विक्री गर्न अनुमति पाएको हो ।
यीबाहेक ४ लाख ८० हजार कित्ता कम्पनीका कर्मचारीहरूका लागि सुरक्षित गरी बाँकी ७६ लाख ८० हजार कित्ता आईपीओ सर्वसाधारणमा सार्वजनिक निष्काशनमा ल्याउन लागेको हो । कर्मचारीहरूका लागि भने प्रतिकित्ता एक सय रुपैयाँ अंकित मूल्यमै आईपीओ विक्री गर्ने जानकारी कम्पनीले दिएको छ ।
सो आईपीओमा लगानीकर्ताले भदौ ४ गतेसम्म आवेदन दिन सक्नेछन् । सो अवधिभित्र पूर्ण आवेदन नपरेमा निष्काशन अवधि भदौ १४ गतेसम्म लम्बिनेछ । इन्स्योरेन्सको आईपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा २० हजार कित्ताका लागि आवेदन दिन सकिनेछ ।
आईपीओ निष्काशनका लागि गराएको रेटिङ्गमा केयर रेटिङ्ग नेपालले इन्स्योरेन्सलाई केयरएनपी त्रिपल बी इस्यूअर रेटिङ्ग प्रदान गरेको छ । यसले इन्स्योरेन्स वित्तीय दायित्व बहन गर्न सक्षम रहेको औषतस्तरको सुरक्षित कम्पनी रहेको संकेत गर्दछ ।
इन्स्योरेन्सको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेड रहेको छ । लगानीकर्ताले बिक्री प्रबन्धकसँगै नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरु र तिनका शाखा कार्यालयहरु तथा सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडबाट उपलब्ध गराएको ‘मेरो शेयर’ सफ्टवेयरबाट आवेदन दिन सक्नेछन् ।
प्रतिक्रिया