नेपाल टेलिकमको नाफा ६६ करोडले घट्यो, नाफा घट्नुको यस्ता छन् ८ कारण 

नेपाल टेलिकमको नाफा ६६ करोडले घट्यो, नाफा घट्नुको यस्ता छन् ८ कारण 


बैंकिङ्ग समाचार, काठमाडौं ।

दूरसञ्चार सेवा प्रदायक कम्पनी नेपाल टेलिकमको नाफा ६६ करोडले घटेको छ ।  जुन अघिल्लो आवको सोही अवधिको तुलनामा ७.८७ प्रतिशतले कम हो। अघिल्लो आवको सोही अवधिमा कम्पनीले ८ अर्ब ४७ करोड ७ लाख ३४ हजार रुपैयाँ थियो। 

टेलिकमको सेवा व्यापारबाट हुने आय केही कमी आएसँगै नाफा घटेको छ। अघिल्लो आवको असार मसान्तसम्म ३७ अर्ब ९१ करोड ९७ लाख ८७ हजार रुपैयाँ रहेकामा गत आवको सोही अवधिमा ३६ अर्ब ८० करोड ३९ लाख ३१ हजार रुपैयाँ छ । टेलिकमको अन्य स्रोबाट हुने आम्दानी २९ करोड ९२ लाख १९ हजार रुपैयाँ छ।  टेलिकमको चुक्ता पुँजी १८ अर्ब रहेको कम्पनीको जगेडा कोषमा ७५ अर्ब ८२ करोड ८१ लाख ९३ हजार रुपैयाँ छ। प्रतिसेयर आम्दानी ४३ रुपैयाँ ३६ पैसा रहेको कम्पनीको प्रतिसेयर नेटवर्थ ५१२ रुपैयाँ २७ पैसा छ। 

किन घट्यो त गत आर्थिक वर्षको नाफा ?  यस्तो छ टेलिकमले औँल्याएको  ८ वटा कारणहरू 

१.रोमिङ सेवाको बढ्दो प्रयोगको कारण यस वर्षको आयमा गत वर्षको तुलनामा २२ करोड ४६ लाख वृद्धि भएको छ । गत वर्षको तुलनामा सेवा सञ्चालनसँग प्रत्यक्ष रूपमा सम्बन्धित खर्चहरूमा वृद्धि भएको छ । बैंक ब्याजदरमा भएको परिवर्तनका कारण वित्तीय आम्दानी करिब १ अर्ब ८५ करोड ७७ लाख रुपैयाँले वृद्धि भएको छ। 

२. विदेशी विनिमय दरमा भएको परिवर्तनको कारण २२ करोड २४ लाखरुपैयाँले फरेन एक्सचेन्ज गेन भएको छ । 

३.डोमेस्टिक अन्तरआबद्धता शुल्कमा परिमार्जन भएको छ । कम्पनीद्वारा व्यापक रूपमा देशैभरि फोरजी सेवा विस्तारसँगै डाटाको पहुँचमा वृद्धि भएको र सस्तो दरका डाटा प्याकेजहरू बढ्दै गएको कारण ओटीटी सेवाको प्रयोगमा थप वृद्धि भएको कारण अन्तरआवद्धता आयमा करिब  ६८ करोड ३७ लाख रुपैयाँले कमी भएको छ। 

४.मौसमको प्रतिकुल असरले गर्दा बिद्युत् आपूर्ति तथा मर्मत सम्भार कार्य समयमा हुन नसकेकोले साइटहरू समयमा सञ्चालन हुन नसकेको। 

५.आर्थिक ऐन, २०७९ बाट दूरसञ्चार सेवा दस्तुरमा भएको परिवर्तनको कारण राजस्वमा तुलनात्मक रूपमा कमी आएको छ। 

६.कोभिड–१९ को कारण विगत केही वर्ष देखि सञ्चालन हुन नसकेको क्षमता अभिवृद्धिका कार्यक्रमहरू यस वर्ष सञ्चालन हुनु र गत वर्ष कर्मचारीहरूको तलबमा भएको वृद्धिको कारण यस वर्ष कर्मचारीसँग सम्बन्धित निवृत्तिभरण व्यवस्थामा वृद्धि भएको छ। 

७.विभिन्न जनसरोकारका निकायले पूर्वाधार निर्माण, विस्तार, मर्मत, स्थानान्तरण एवं नगरपालिका र वडा कार्यालयले गर्ने केबल व्यवस्थापन कार्यका क्रममा कम्पनीले सेवा प्रवाह गर्न निर्माण गरेका कतिपय संरचनामा क्षति पुग्ने गरेको तथा नेटवर्क विस्तारमा समेत प्रभाव परेको छ ।  

८. ‘राष्ट्रको सञ्चार’ भएकाले बढी लागत तथा कम प्रतिफल प्राप्त हुने विकट तथा दुर्गम स्थानमा समेत सेवा विस्तार र गुणस्तर सुधारको कार्यमा निरन्तर लागिरहेको र लागत समेत बढिरहेको छ ।